१७ हजार पर्यटक रारा पुगे
होटल बास र सडकमा समस्या
जुम्ला– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा एकै वर्षमा १७ हजार बढी पर्यटक पुगेका छन् । साविक कर्णालीको मुगुमा अस्थित रारा तालमा गत आर्थिक वर्ष २०८०–८१ मा १७ हजार २ सय ९७ जना पर्यटकले रारा भ्रमण तथा अवलोकन गरेका हुन् । स्वर्गकी अप्सरा उपनाम पाएको रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनेको छ ।
होटल बासको अभाव, सडकको दुराअवस्थाकै बीच राराको सौन्दर्य अवलोकन गर्न हजारौंको संख्यामा पर्यटक आउन थालेका हुन । कर्णाली प्रदेशकै प्रमुख गन्तव्य तथा सबैभन्दा ठूलो रारा तालमा पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–८१ म वर्षभरी कुल १७ हजार २९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।
रारामा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आएको तथ्यांकले देखाएको छ । जसमा आन्तरिक पर्यटक मात्रै १७ हजार रारामा पुग्दा सार्क राष्ट्रका ६० जना पर्यटकले राराको भ्रमण गरेको देखिन्छ । विदेशी पर्यटक २३७ जना गरेर १७ हजार २९७ पर्यटक रारा पुगेका रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटु मुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए । उनका अनुसार रारामा गत वर्षभन्दा ६ हजारले पर्यटक वृद्धि भएका छन् । आव २०७९–८० मा रारामा तालमा वर्षभरीमा ११ हजार पर्यटकले भ्रमण गरेका थिए ।
आव २०८०–८१ म ६ हजारले वृद्धि भएर १७ हजार पर्यटक रारा पुगेका हुन् । पर्यटन पूर्वाधारको अभावका बीच रारामा पर्यटकको आर्कषण बढ्नुले यस क्षेत्रको पर्यटन पूर्वाधारमा जोड दिनु पर्ने देखिएको छ । रारा तालमा विशेष गरी भदौदेखि कात्तिकसम्म बढी पर्यटकले घुम्ने गरेका छन् । दशै तिहारको बिदाको सदुपयोग गर्दै सामुदायिक तथा पारिवारिक भ्रमण रारामा हुने गरेको निकुञ्जले जनाएको छ ।
धिताल भन्छन्,‘पूर्वाधार बिना, सेवा सुविधानै नभएको अवस्थामा ६ हजार वृद्धि भएर पर्यटक आउनु सुखद पक्ष हो । कर्णालीको पर्यटक विकासमा यसले नयाँ सन्देश मात्र दिएको छैन । राज्यलाई कर्णालीको पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्ने पक्षलाई पनि जोड दिएको छ ।’ विगतको तुलनामा रारा पुग्ने सडक र हवाई यातायात केही सहज हुदैं गए पनि अपेक्षित रूपमा पूर्वाधार विकासले गती लिन सकेको छैन । तथापी चुनौती मोलेर धुलो माटो जोखिमयुक्त सडकको प्रवाह नगरी रारामा पर्यटक पुग्नुलाई सकरात्मक रूपमा लिनु पर्ने प्रमुख धितालको भनाइ छ ।
पछिल्लो वर्षमा काम विशेषले कर्णाली प्रदेश आउने जोसुकैले एक पटक रारा पुग्नै पर्ने कार्यतालिका समेत बनाउने गरेका छन् । खस भाषाको उद्गम स्थल सिंजा सभ्यताको अवलोकन गर्दै पर्यटक रारा पुग्ने गरेका छन् । हवाई सेवा सबैको पहुँचमा नभएको र नियमित उडान पनि नहुने भएकोले स्थलमार्गबाट अधिकांश पर्यटक आउने गरेका छन् । रारा पुग्ने नाग्म–गमगडी सडकको अबस्था सन्तोषजनक छैन ।
उक्त सडक सञ्चालन भएको डेढ दशकमा ६ किमी मुस्किलले कालोपत्रे भए पनि बाँकी ८७ किमी सडक अझै हिलाम्य र धुलाम्य छ । तथापि रारामा पर्यटकको आगमनको ग्राफ भने बढ्दो छ । कर्णाली राजमार्ग व्यवस्थित नहुनु एवं ताल्चा विमानस्थलमा पनि नियमित हवाई उडान नहुँदा रारा पुग्ने पर्यटक एक पटक आइसकेपछि फेरि आउन आनाकानी गर्छन् । नाग्मदेखि गमगढीसम्ममा सडक खण्ड स्तरोन्नति नहुँदा, र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवतजावतमा पर्यटकले सास्ती भोग्नु परेको छ ।
समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित रारालाई कर्णालीको समृद्धीसँग जोडेर त्यहाँको पूर्वाधार विकासका लागि पर्याप्त लगानी गर्न संघ र प्रदेश सरकार गम्भीर हुनु पर्ने मुगुवासीको माग छ । निकुञ्जको तथ्यांकअनुसार गत वर्षमा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले वर्ष भरी ४५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्ज क्षेत्रमा पर्यटकले प्रवेश पाएसँगै विभिन्न शीर्षकमा राजस्वअनुसार रारामा ४५ लाख ९८ हजार बढी संकलन भएको हो ।