आठ महिनासम्म मजदुरले ज्याला पाएनन्

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक आयोजनामा ८ महिना बितिसक्दा पनि मजदुरले ज्याला पाउन सकेका छैनन् । गाउँपालिकाको वडा नम्बर २ मा गत वर्षको चैत महिनामा थगारेखोली जीपु खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले काम गरेको रकम नपाएका हुन् । आयोजनामा काम गरेकी स्थानीय विमला खत्रीले काम गरेको महिनौं बितिसक्दा पनि ज्याला नपाउँदा अब पाउने आश मर्न थालेको बताइन् ।
गत वर्षको चैतबाट बाँफिकोट गाउँपालिकाको २१ लाख, २ नम्बर वडाको १८ लाख, जलवायु परिवर्तन कार्यक्रमको १५ लाख गरी जम्मा ५४ लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा आयोजनाको सम्पन्न गर्नेगरी काम सुरु गरिएको थियो । आयोजनाको जम्मा रकममध्ये २५ लाख रकम गाउँपालिकाबाट भुक्तानी लिएर सामान ढुवानी र केही दक्ष मजदुरलाई ज्याला दिएको थगारेखोली जीपु खानेपानी उपभोक्ता समितिका अध्यक्ष मैश्वर बिसीले बताए । उनका अनुसार ज्याला नपाएका अन्य मजदुरलाई पनि गाउँपालिकाबाट बाँकी भुक्तानी आउने बित्तिकै रकम वितरण गरिने छ । गाउँबाट ४ किलोमिटर टाढा थगारेखोलीबाट गाउँसम्म पानी ल्याइएको भए पनि अहिले कुनै पनि टोलमा पानी वितरण गरिएको छैन । आयोजनाको सबै काम नसकिएकोले पानी वितरण नगरिएको बताइएको छ ।
उता वडा नं २ का वडाध्यक्ष धनबहादुर खत्री भने अघिल्लो आर्थिक वर्षको मसान्तसम्म आयोजनाको काम सम्पन्न गरिसक्नु पर्ने भए पनि समयमै काम सम्पन्न नभएकोले र भएको काम पनि गुणस्तरहीन भएको गुनासो आएपछि उपभोक्ता समितिलाई बाँकी रकम भुक्तानी नदिँदा मदजुरहरूले पनि नपाएको हुनसक्ने बताए । आयोजनाको काम सम्पन्न भएपछि सबै रकम झुक्तानी हुने उनको भनाइ छ ।