मृतक, अंगभंग र शव व्यवस्थापनका लागि १ अर्ब सहयोग
वैदेशिक रोजगारीका क्रममा एक वर्षमा साढे १३ सय नेपालीको मृत्यु
काठमाडौं– सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र बिरामीलगायतका परिवारलाई करिब एक अर्ब आर्थिक सहयोग वितरण गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य शीर्षकमा सो रकम सहयोग गरेको हो । गत वर्ष १ हजार ३४६ नेपालीले विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा उनीहरुका आफन्तलाई मात्र वैदेशिक रोजगार बोर्डले ७० करोड आर्थिक सहयोग गरेको थियो ।
यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्चबाहेकको रकम हो । बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित १ हजार ३०५ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष विदेशमा मृत्यु भएर बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ ।
बोर्डका निर्देशक टिकाराम ढकालले वैदेशिक रोजगारीमा रहेका युवाका लागि प्रदान गर्दै आएको विभिन्न ७ प्रकारका कल्याणकारी सहयोगका लागि गत आवमा ९८ करोड हाराहारीमा सहयोग गरेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या केही बढेको बोर्डको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा वैदेशिक रोजगारीबाट १३ खर्ब २१ अर्ब भन्दा बढी रेमिट्न्यान्स भित्रिएको छ ।
यो अवधिमा बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्दार, शव व्यवस्थापन अभिमुखिकरण र उपचारका लागि गर्ने खर्च बढेर ९८ करोड पुगेको छ । अघिल्लो आवमा यो शीर्षकमा ८४ करोड ८० लाख सहायता रकम वितरण गरिएको छ । बोर्डले मृत्यु, अंगभंग तथा बिरामीको संख्या बढेसँगै अनिवार्य दायित्वभित्र पर्ने सहयोग रकमसमेत बढ्दै गएको जनाएको छ । गत वर्ष विदेशमा मृत्यु भएको संख्या आर्थिक सहायता लिने मापदण्डमा परेका श्रमिकको मात्र हो ।
विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोड्दा मृतकको संख्या अझ बढी हुन्छ । गत आवमा अंगभंग, बिरामी भएका श्रमिकको संख्या ६५३ रहेको थियो । यसरी अंगभंग, बिरामी भएका श्रमिकका लागि लगभग १९ करोड ४६ लाख वितरण गरिएको थियो । बोर्डले सो अवधिमा २६५ जना कामदारका परिवारलाई औषधी उपचार सहयोगका लागि १ करोड २२ लाख वितरण गरेको थियो ।
यसैगरी विभिन्न श्रम गन्तव्यमा अलपत्र परेका श्रमिकको उद्दार लागि नियोगसँग समन्वयन गरी १४६ जनाको उद्दारका लागि ३ लाख २० हजार सहयोग गरेको थियो । गत वर्ष विदेशमा मृत्यु भएकामध्ये ७७५ श्रमिकको शव गृह जिल्ला पुर्याउन ३ करोड ४१ लाख खर्च गरेको थियो । यसरी नै विदेशबाट ३०८ श्रमिकको शव झिकाउन ३ करोड ७३ लाख सहयोग गरेको थियो । योबाहेक सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई ७ लाखका दरले आर्थिक सहायता दिँदै आएको छ ।
सबै भन्दा कम मृत्यु दर युएई ०.२१ प्रतिशत, कतार ०.२४, साउदी अरब ०.३९ र सबै भन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजनिक गरेका प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि हुँदै आएको छ ।
बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत् गरेसँगै सेवाग्राही संख्यासँगै सहयोग रकम पनि बढेको हो । यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा ऐन संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने व्यवस्था गरेको छ ।