Logo

मर्स्याङ्दी करिडोरका स्थानीय तहको बैठकमा निर्माणलाई प्राथमिकता

लमजुङ– मर्स्याङ्दी करिडोर अन्तर्गतका स्थानीय तहको अन्तरपालिका समन्वय बैठक लमजुङको मस्र्याङदी गाउँपालिका–५, रक गार्डेन होमस्टेमा सम्पन्न भएको छ । अन्तरपालिका समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा विभिन्न निर्णय गर्दै मंगलबार बैठक सम्पन्न भएको हो ।

बैठकले विशेषगरी मर्स्याङ्दी करिडोरअन्तर्गत शैक्षिक विकासका लागि तयार पारेको प्रतिवेदन सुझावसहित पारित गरेको छ । अघिल्लो बैठकको निर्णयबमोजिम सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाको संयोजकत्वमा गठित शिक्षासम्बन्धी प्रतिवेदन उपसमितिले तयार पारेको प्रतिवेदन सो बैठकमा पेस भई सुझावसहित पारित भएको हो ।

त्यसैगरी बेठकले अघिल्लो बैठकबाट प्राथमिकता दिएका विभिन्न निर्णयलाई कार्यान्वयनका लागि थप पहल गर्ने निर्णय गरेको छ । अघिल्लो बैठकले मर्स्याङ्दी करिडोरअन्तर्गत डुम्रे–बेसीसहर–चामे सडक स्तरोन्नति, पाएक पर्ने स्थानमा सुविधा सम्पन्न अस्पताल निर्माण, पर्यटकीय पदमार्ग निर्माण तथा पर्यटन प्रवर्द्धन कार्यक्रम र विद्युत सबस्टेसन निर्माणलगायतका विषयमा प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

तत्कालीन निर्णयका विषयमा सरकारलाई ध्यानाकर्षण गराए पनि हाल सरकार परिवर्तन भएकाले पुन: सोही विषयमा नयाँ सरकारलाई पनि लिखित रूपमै ध्यानाकर्षण गराउने निर्णय भएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । सोबाहेक अन्तरपालिका समन्वय बैठकले पालिकाबीच समन्वय र सहकार्यमा फोहरमैला व्यवस्थापन गर्ने, आगामी बैठकमा भए गरेका असल र अनुकरणीय कामको अनुभव आदानप्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्दै आगामी बैठक मनाङमा बस्ने निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिए । मर्स्याङ्दी गाउँपालिकाको आतिथ्यतामा भएको सो बैठकमा मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङको नासोङ गाउँपालिका र तनहुँको आबुखैरेनी गाउँपालिकाबाहेक सवै स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

विगतको वर्षदेखि नै मर्स्याङ्दी करिडोरअन्तर्गतका स्थानीय तहले आपसी समन्वयमा गर्न सकिने विकास निर्माणका कामका विषयमा साझा धारणा बनाउँदै सहकार्य गर्ने गरी समन्वयात्मक बैठक बस्दै आएका छन् । समन्वय समितिमा मनाङको ङिस्याङ, चामे र नासोङ गाउँपालिका रहेका छन् भने लमजुङका मर्स्याङ्दी, दोर्दी गाउँपालिका, बेसीसहर, सुन्दरबजार र राइनास नगरपालिका रहेका छन् । त्यसैगरी तनहुँको भानु नगरपालिका र आबुखैरेनी गाउँपालिका रहेका छन् भने गोरखाको पालुङटार नगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्