केरुंगामा खानेपानी समस्या

बिहान उज्यालो भएपछि घरको काम गर्न व्यस्त हुनुपर्ने यहाँका बासिन्दा खानेपानी बोक्नै व्यस्त हुन्छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका केरुंगाको समस्या हो यो । यहाँ हिउँद लागेसँगै खानेपानीको चरम समस्या हुने गर्छ । यहाँका बासिन्दा बिहानको समयमा विद्यार्थी, आधाबैसेदेखि वृद्धसम्म पानी बोक्नमै तल्लीन हुन्छन् ।
खानेपानीको समस्या भएको धेरै वर्ष भयो यहाँको समस्या समाधान गर्न कोही आएन, चुनाव आउँदा खानेपानी ल्याउँछौ भनेर भोट माग्न आउँछन् तर चुनाव जितेपछि वास्तै गर्दैनन् स्थानीयवासीको गुनासो छ ।
पानी बोकेर जिन्दगी कटाएका केरुंगाका ७९ वर्षीय रणकुमार श्रेष्ठ भन्छन्, “सक्ने उमेरमा पानी बोकेर खाइयो, अहिले पानी बोक्न सक्नै छोडे, घरमा बुहारीहरूले पानी बोकेर घर र पशुपालनलाई पु¥याएका छन,” उनले भने, “पुरुषहरू विदेशिएकाले महिलाहरूलाई पानी बोक्न निकै गाह्रो भएको छ ।” केरुंगा खहरेका तिलकराम पराजुली भन्छन्, “बर्खामा आएको पानी जम्मा हुने घन्टौ भए पनि आकाशबाट पानी नपर्दा घन्टौ पनि रित्तो भयो, असार, साउन, भदौ महिनाबाहेक अन्य ९ महिना खानेपानीको समस्या पर्ने भयो ।”
३ दिनमा १ घण्टा पानी आउने यहाँका बासिन्दाको मूल छत्रदेव गाउँपालिकाको भगवती वाहीगाउँ हो, यहाँबाट ११ किमि पर रहेको वाहीगाउँको पानी तेलजस्तै बचाएर प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् । १३५० घरधुुरी रहेको केरुंगामा झन्डै ४ हजार मानिस बसोबास गर्छन ।
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकालाई सुख्खाक्षेत्र घोषणा गरी खानेपानीको समस्या समाधान गर्ने अभियानका साथ अगाडि बढेकाले २ वर्षभित्र समस्या समाधान हुने बताए ।