Logo

कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

जुम्ला – कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० लक्षित गरी एक लाख विदेशी पर्यटक कर्णालीमा भित्र्याउने गरी तयारी थालेको छ । भ्रमण वर्षको प्रचारप्रसारसहित २०२० मा कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रको दु्रत विकास तथा पर्यटकिय क्षेत्रको प्रवद्र्धनका विभिन्न क्रियाकलाप मार्फत भ्रमण वर्ष २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिए ।
सुर्खेतमा आयोजित एक साक्षात्कार कार्यक्रमका एक लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सार्वजनिक गरेका हुन् । कर्णालीमा पर्यटक भित्र्याउन सांस्कृतिक, प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्भावनाहरु थुप्रै भएकोले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न बाह्य पर्यटक भित्र्याउनु सरकारको पहिलो प्राथमिकता रहेको मन्त्री बुढाको भनाइ छ ।
“कर्णालीमा पर्यटनका प्रचुर सम्भावना छन् । सरकार र निजी क्षेत्र मिलेर पर्यटन विकास गर्न सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने छ,” उनले भने । २०२० भित्र एक लाख बाह्य पर्यटकलाई भित्र्याउनका लागि मुगुको रारा ताल, डोल्पाको से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, दैलेखको पञ्चकोशी, जुम्लाको सिञ्जा उपत्यका, चन्दननाथ मन्दिर, देशकै दोस्रो अग्लो स्तुपा, सुर्खेतको काँक्रेविहार र कालिकोटको पचाल झरना लगायतका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य रहेका छन् । विदेशी पर्यटक भित्र्याउने मुख्य गन्तव्यका रुपमा राराताल, सिंजा उपत्यका र सेफोक्सन्डु ताललाई हेरिएको छ ।
कर्णाली भ्रमण वर्ष २०२० का सहसंयोजक राजु कार्कीले कर्णालीका पर्यटकीय स्थललाई विश्व बजारमा प्रचार–प्रसार गर्न नसकेको बताए । सरकारले मुख्य पर्यटकीय गन्तव्यसम्म सहज यातायातको पहुँच निर्माण गर्न उनको सुझाव छ । पर्यटक बढाउनका लागि पूर्वाधारमा निर्माण ध्यान दिनुपर्ने उनको भनाइ छ ।

६ उपसमिति गठन
भ्रमण वर्षलाई सफल पार्न तथा कर्णालीमा एकै वर्षमा एक लाख विदेशी पर्यटक भित्र्याउन कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । पर्यटन मन्त्री नन्दसिंह बुढाका अनुसार सबै समिति आफ्नो कार्ययोजना निर्माणमा जुटिरहेका छन् । मन्त्री बुढाको अध्यक्षतामा गठित ६ वटा उपसमितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायी लगायतको प्रतिनिधित्व रहेको छ ।

प्रदेशस्तरीय झाँकी प्रर्दश हुने
कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भको दिन २०२० जनवरी १ मा प्रदेश स्तरीय झाँकी प्रर्दशन गरिभएको छ । कर्णालीका १० वटै जिल्लाबाट मौलिक संस्कृति झल्किने झाँकी ल्याएर सुर्खेतमा प्रदर्शन गरी भ्रमण वर्षको शुभारम्भ गर्ने सरकारको लक्ष्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीले बताए । उनका अनुसार सम्बन्धित सबै समितिले भौतिक पूर्वाधारको विकास गर्ने, होटलको व्यवस्थापन गर्ने, होमस्टे सञ्चालन गर्ने, नीजि क्षेत्रसँग सहकार्य गर्ने अठोटका साथ भ्रमण वर्ष २०२० को प्रचार प्रसार अभियानलाई उच्च प्राथमिकताका राखेका छन् । कर्णालीको राजधानीबाट जुम्लामा मुगु, हुम्ला, डोल्पा जिल्लामा उडानको व्यवस्था गर्नुपर्ने, कर्णाली करिडोर र भेरी करिडोरको स्तरोन्नति गर्नुपर्ने जस्ता पर्यटनका प्रमुख आधारहरु तयार गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्