Logo

जुम्लामा खाद्यान्न अभाव, बिक्री वितरण बन्द

जुम्ला– जुम्लामा सरकारी अनुदानको खाद्यान्न अभाव भएको छ । ढुवानीको चामल नपुगेको र गोदाम रित्तिँदै गएपछि सर्वसाधारणका लागि अनुदानको खाद्यान्न बिक्री रोकिएको हो ।

यद्यपि विपद्, कारागार, जन्म मृत्युका लागि झण्डै १४ सय क्विन्टल चामल मौज्दात रहेको छ । व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले ढुवानी नभएसम्मका लागि सर्वसाधारणका लागि खाद्यान्न बिक्री रोकिएको सूचना जारी गरेको छ । विपद् बाहेक नियमित बिक्री गर्ने खाद्यान्न सकिएपछि केही समयका लागि बिक्री रोकिएको जुम्ला शाखा प्रमुख सन्तोष तिवारीले बताए ।

उनले भने, ‘हाल गोदामनै खाली भएको भन्ने होइन । अविरल वर्षा जारी रहेकोले कति बेला विपद् आउने टुंगो छैन । कारागार, सरकारले तोकेकोलाई अनिवार्य दिन र जन्म मृत्युका लागि करिब १४ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’ गत आर्थिक वर्ष २०८०–८१ का लागि स्वीकृत वार्षिक कोटा सात हजार ५ सय रहेकोमा हालसम्म सबै कोटा ढुवानी भइसकेको छ । सुर्खेत, राजापुर, नेपालगन्जबाट आउने सबै खाद्यान्न आइसकेको र थोरै आउन बाँकी चामल यही १९ गतेसम्म आइपुग्ने भएकोले २० साउनबाट वितरण गरिने तिवारीले बताए ।

चालु आर्थिक वर्षका लागि साउन २५/२६ गते टेण्डर आह्वान गरी भदौ पहिलो सातासम्म नयाँ आर्थिक वर्षको स्वीकृत कोटाअनुसार ढुवानी सुरु हुने व्यवस्था रहेको व्यापार कम्पनीले जनाएको छ । सर्वसाधारणलाई रोकिए पनि जन्म मृत्युको लागि नियमित बिक्री भइरहेको छ । गत साउन ९ बाट जुम्लामा सरकारी अनुदानको खाद्यान्न बिक्री बन्द भएपछि सर्वसाधारण मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्