७ वटा झोलुंगे पुल निर्माण सुरु «

७ वटा झोलुंगे पुल निर्माण सुरु

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिको विभिन्न ठाउँमा रहेका खोलामा यस वर्ष दुई करोड २२ लाख रुपैयाँको लागतमा सातवटा झोलुंगे पुल निर्माण सुरु भएको छ ।
धौलागिरि गाउँपालिकामा तीन र मालिकामा चारवटा झोलुंगे पुल निर्माण कार्य सुरु भएको हो । ९९ लाख २५ हजार ६५२ रुपैयाँको लागतमा लुलाङको धनमाने खोला, ४ नम्बर वडाको जेल्तुङस्थित म्याग्दी खोला, ४ र ६ नम्बर वडाको सिमाना छहरी खोलामा उपभोक्ता समितिमार्फत झोलुंगे पुल निर्माणकार्य सुरु भएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । अध्यक्ष पुनका अनुसार धनमाने र छहरी खोलाको पुलमा कुल लागतको छ प्रतिशत बजेट विनियोजन गरेको गाउँपालिकाले आकस्मिक रूपमा बन्न लागेको जेल्तुंगको पुललाई १० प्रतिशत विनियोजन गरेको छ ।
यसैगरी मालिका गाउँपालिकामा एक करोड २२ लाख ७८ हजार २९८ रुपैयाँको लागतमा चारवटा झोलुंगे पुल निर्माणकार्य सुरु भएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताइन् । २ नम्बर वडाको टाक्से, ४ नम्बर वडा ओखरबोटको नुन्थला, ५ नम्बर वडा देविस्थानको दोबिल्ला र दाङखोलामा झोलुुंगे पुल निर्माण हुन लागेको हो ।
सातवटा पुलबाट सात हजारभन्दा बढी घरधुरीका ३५ हजार जनसंख्या लाभान्वित हुने जनाएको छ । आगामी बर्खाअघि नै झोलुंगे पुल निर्माण गरिसक्ने लक्ष्यसहित कामअघि बढेको छ । टीबीएसयू, स्वाप कार्यक्रमको आर्थिक, जिल्ला समन्वय समितिको समन्वय र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक परिचालन सहयोगमा समुदायको सहभागितामा पुल निर्माण हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्