Logo

स्थानीय तहबाट ३१ करोड बढी खर्च

लमजुङ– लमजुङका स्थानीय तहबाट गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै ३१ करोड खर्च भएको पाइएको छ । गत आर्थिक वर्षमा स्थानीय तहले संघीय सरकारबाट आएको कुल बजेटमध्ये ३१ करोड ३५ लाख रुपैयाँ आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै खर्च गरेका हुन् ।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार जिल्लाका स्थानीय तहले चालुतर्फको बजेटबाट २७ करोड १६ लाख रुपैया र पुंँजीगततर्फको चार करोड १९ लाख रुपैयाँ असारमा खर्च भएको हो । कोलेनिका विवरणअनुसार जिल्लाको बेसीसहर नगरपालिकाबाट गत असारमा मात्रै ६ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।

बेसीसहरले चालुतर्फ पाँच करोड १६ लाख ८१ हजार रुपैया खर्च गरेको छ भने पुँजीगततर्फ एक करोड ५६ लाख रुपैया खर्च गरेको छ । त्यसैगरी जिल्लाको सुन्दरबजार नगरपालिकाले गत असारमा मात्रै चार करोड दुई लाख रुपैया खर्च गरेको छ भने मध्यनेपालले तीन करोड ८४ लाख रुपैयाँ र राइनास नगरपालिकाले तीन करोड पाँच लाख रुपैयाँ गत असारमा मात्रै खर्च गरेको छ ।

त्यसैगरी गाउँपालिकातर्फ मस्र्याङ्दी गाउँपालिकाले चार करोड ४४ लाख रुपैयाँ गत असारमा मात्रै खर्च गरेको कोलेनिका विवरणमा उल्लेख छ । मस्र्याङदीले चालुतर्फ तीन करोड ५२ लाख र पुँजीगततर्फ ९१ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी जिल्लाको दोर्दी गाउँपालिकाले पनि गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै तीन करोड २६ लाख रुपैयाँ खर्च गरेको छ ।

सोबाहेक जिल्लाको दूधपोखरी गाउँपालिकाले गत असारमा मात्रै तीन करोड ६ लाख रुपैयाँ र क्होलासोँथार गाउँपालिकाले दुई करोड ९२ लाख रुपैयाँ खर्च गरेका छन् । दूधपोखरीले चालुतर्फ दुई करोड १८ लाख र पुँजीगततर्फ ८८ लाख रुपैयाँ असारमा मात्रै खर्च गरेको छ भने क्होलासोँथार गाउँपालिकाले चालुतर्फ दुई करोड नौ लाख र पुँजीगततर्फ ८२ लाख ८८ हजार रुपैयाँ गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै खर्च गरेको छ ।

जिल्लाका स्थानीय तहका लागि गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको कुल बजेटमध्ये एक अर्ब १२ करोड ३९ लाख रुपैयाँ खर्च गरेका छन् । जिल्लाका स्थानीय तहले खर्च गरेको बजेटमध्ये २७ दशमलव ८९ प्रतिशत रकम आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै खर्च भएको कोलेनिका विवरणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्