Logo

देशभर ९२ प्रतिशत धान रोपाइँ

फाइल तस्बिर ।

काठमाडौं– यस वर्षको धान रोपाइँ अन्तिम चरण पुगेको छ । कृषि विभागका अनुसार साउन १३ सम्म देशभर ९२.४ प्रतिशत धान रोपाइँ सकिएको हो ।

विभागका अनुसार कुल १३ लाख ९८ हजार २७३ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान छ । जसमध्ये साउन १३ सम्म १२ लाख ९२ हजार २२१ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो । गत वर्षको यही अवधिमा ७८.१ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलना यो वर्ष धान रोपाइँ १४.३ प्रतिशतले वृद्धि भएको छ ।

जेठ महिनादेखि सुरुवात हुने धान रोपाइँ अब अन्तिम चरण पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । धेरै जस्तो सिँचाइ उपलब्ध हुने पहाडी क्षेत्रमा जेठमहिनादेखि नै धान रोपाइँ हुने हुँदा बाँकी छैन । धान रोपाइँ केही ढिलो सुरु हुने पूर्व तराई र मधेश प्रदेशमा करिब १/२ प्रतिशत मात्रै बाँकी भए पनि अब अन्तिम चरणमा पुगेको उनले बताए ।

यस वर्ष मनसुन छिटो नै सुरु भएको हुँदा धान रोपाइँ पनि छिट्टै सकिएको उनले बताए । साउन १३ सम्ममा ९२ प्रतिशत रोपाइँ सकिसकेको छ । उनले भने,‘ सात प्रतिशत त केही भएको छैन । अब हामीले रोपाइँको तथ्यांक संकलन गर्छौं ।’ उनले भने,‘ गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा देशभर धान रोपाइँ निकै वृद्धि भएको छ । मनसुनको सक्रियतासँगै रासायनिक मलको अभाव नभएपछि धान रोपाइँ गत वर्षभन्दा बढेको हो ।

उनले भने,‘विगतभन्दा पछिल्लो समय तराई क्षेत्रमा सिँचाइको विस्तार बढेको र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको कारण यस वर्ष मधेश प्रदेशमा धान रोपाइँ बढेको छ । समयमा धान रोपाइँ भएको हुँदा यसले धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । यस पटक रासायनिक मल पनि सहज रुपमै आपूर्ति भइरहेको हुँदा उत्पादन पनि बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

विभागको तथ्यांक अनुसार सबैभन्दा धरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । यस प्रदेशमा कुल जमिनको ९९.६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ । मधेश प्रदेशमा यस वर्ष धान रोपाइँ उल्लेखनीय वृद्धि भएको छ ।

कृषि विभागको तथ्यांकअनुसार साउन १३ सम्म ९२ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही समयमा ५८.८ प्रतिशत मात्र रोपाइँ सकिएको थियो । यो गत वर्षको तुलनामा ३४ प्रतिशत बढी हो । यस प्रदेशमा ३ लाख ८३ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा साउन १३ सम्म कुल क्षेत्रफलको ९६.९ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा कर्णाली प्रदेशमा ८५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ । जसमा ४० हजार ६२३ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी लुम्बिनीमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ८०.९ प्रतिशत रोपाइँ भएको थियो ।

यस प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुने गरेको छ । गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ८२.३ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेको थियो । जसमध्ये ८८ हजार २५२ हेक्टरमा धान रोपाइँ भएको छ । विभागको साउन १३ सम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा धान खेती योग्य जमिनको ९०.८ प्रतिशत धान रोपाइँ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्