कांग्रेसले हार्ने अवस्थै छैन

मंसिर १४ गते हुने उपनिर्वाचनमा राजनीतिक दलहरू प्रचारप्रसारमा जोडतोडले लागेका छन् । दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य (ख) का तत्कालीन सांसद उत्तरकुमार वलीको सडक दुर्घटनमा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट वलीकै श्रीमती विमला खत्री (वली) र नेपाली कांग्रेसबाट केशव आचार्यसहित अन्य राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवार छन् । जसमा राप्रपाको तर्फबाट भुपाल रावत, साझा पार्टीका तर्फबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटिलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (बीपी) बाट दीपककुमार धिताल तथा स्वतन्त्र उम्मेदवारमा गोविन्द बिसी र टीकाराम आचार्य छन् । तर मुख्य प्रतिस्पर्धी भने नेकपा र नेपाली काँग्रेस नै देखिएका छन् । यसै सन्र्दभमा दाङस्थित कारोबारकर्मी अमरराज आचार्यले प्रदेश सांसदका उम्मेदवारद्वय आचार्यसँग गरेको कुराकानीको सार :
निर्वाचनको माहोलमा होमिनुभएको छ, कस्तो माहोल देख्नुभएको छ ?
माहोल तपाँई आफैंले पनि देख्नुभएको छ, आमनागरिकले देखेका छन्, आममतदाताले देखेका छन् । किनकि मतदाताले वर्तमान सरकारको विकल्प खोजिरहेको अवस्था पनि हो । त्यसैले हामी जनतालाई यो सरकारको गतिविधि र हाम्रा भावी कार्यक्रमका विषयमा जानकारी गराउन मात्रै हिंडेको अवस्था हो । हामी जहाँ पुगेका छौं, त्यहाँका जनताले वर्तमान सरकारको विकल्प खोजिरहेको अवस्था पाएका छौं । यो निर्वाचनमा मेरो उम्मेदवारी लोकतन्त्रको संरक्षण र निर्वाचन क्षेत्रको विकास हो । त्यसमा जनता हामीसँगै छन् भन्ने मैले बुझेको छु । किनकि मतदाता विकासका पक्षमा छन् । नेपाली कांग्रेसले यसअघि गरेका हरेक विकास निर्माणका एजेन्डालाई जनताले समर्थन गरेका छन् । सिंचाइ कुलो होस् वा सडक विकास सञ्जाल सबै जनतासामु छर्लंग छ । त्यसैले पनि विकासप्रेमी नेपाली कांग्रेसलाई जनताले जिताउनेमा कुनै विमति छैन ।
तपाईंको जित्ने आधार के छ ?
त्यो बेलाको अवस्था बेग्लै थियो । जनता पनि नेतृत्व कस्तो छान्ने भन्नेमा थिए, तर जनता त्यो बेला झुक्किए । किनकि उनीहरूले दिएको मतको सम्मान हुन सकेन । वर्तमान सरकार जनताका विकास–निर्माणका सवालमा कत्ति पनि गम्भीर भएको छैन । खालि जनतालाई करको भार थप्ने र आफूले सेवासुविधा बढाउने सवालमा मात्रै क्रियाशील भयो । त्यसैले अब नेपाली जनताले सबै बुझिसकेका छन् । विकासप्रेमी पार्टीको हो भनेर । अब मतदाता झुक्किने अवस्थै छैन । त्यसैले पनि मैले भन्नुपर्छ मलाई मत होइन, नेपाली कांग्रेसलाई मत दिनुस् भन्ने हो । कांग्रेसको सिपाही भएको नाताले पनि मैले निर्वाचन जित्छु भन्नेमा कुनै विमति छैन । किनकि वर्तमान सरकार असफल भइसकेको छ । विकास निर्माणमा कांग्रेसको जति भूमिका कुनै पनि पार्टीले खेल्ने अवस्था छैन । किनकि तत्कालीन नेता खुमबहादुर खड्काको विकासप्रेमले पश्चिम दाङको विकास होस् वा नेपालगञ्ज, तुलसीपुर–अमिलिया सडक सञ्चालन सबै जनताले देखिसकेका छन् । हामी चाहन्छौं– तुलसीपुरलाई कर्णालीसँग जोड्न दाङ–सुर्खेत सडकको स्तरोन्नति हाम्रो पहिलो प्राथमिकता हुनेछ ।
सरकारलाई असफल भन्नुभयो, त्यो आधार के हो ?
हो, सरकार असफल भएकै हो । किनकि सरकारले कर आतंक मच्चाएको छ । विकास–निर्माणको सवालमा आर्थिक पारदर्शिताको अवस्था छैन । राष्ट्रियताको सवालमा विवादास्पद निर्णय गर्दैछ । साम्यवादका नाममा अनैतिक वैदेशिक सम्बन्ध स्थापित गरिरहेको छ, तर जनजीविकाका सवालमा सरकारले कुनै पनि क्षेत्रमा राहत दिन सकेको अवस्था छैन । त्यसैले पनि मतदाता यो सरकारको विकल्प खोजिरहेका छन् भन्ने मेरो बुझाइ हो । सिंचाइ सुविधा नपाएर धेरै खेत बाँझै छन्, मल नपाएर खेतीपाती सप्रिएको छैन । तर, सरकार भने आफ्नै आन्तरिक समस्यामा मात्रै अल्झिरहेको छ । जनताले विकल्प खोजिसकेको अवस्था हो भन्ने मेरो बुझाइ पनि हो । जनताले अत्यधिक कर तिर्न बाध्य भएका छन् तर करको प्रतिफल पाएका छैनन् । कर तिर्नु नागरिकको दायित्व हो तर त्यसको प्रतिफल पाउने सरकारले व्यवस्था गर्नुपथ्र्यो । तर सरकार आफ्नै सुविधा भोगमा अभ्यस्त देखिएको छ । जनप्रतिनिधिहरू मासिक तलबभत्ता खाने कर्मचारीजस्तै भएका छन् । यो अवस्थाले सरकार समृद्धि र विकासमा अघि बढेको अवस्था देखिँदैन । यसबाहेक भ्रष्टाचार पनि मौलाएको हामीले पाएका छौं ।
अघिल्लो निर्वाचनमा ६ हजार मतले नेकपाले जितेको हो, त्यससँगै अहिले वामएकता पनि भएको छ, उनीहरूले थप मत ल्याउने अभ्यासमा छन्, तपाईंले कसरी जिन्नुहुन्छ ?
यो राष्ट्रिय राजनीतिको कुरा हो अनि जिल्लामा पनि त्यस्तै माहोल भएको छ । जनता कुन बेला कसलाई जिताउने भन्ने पक्षमा प्रतिबद्ध छन् । त्यो अहिलेको निर्वाचनले देखाउनेछ । किनकि नेपाली कांग्रेस कमजोर भएर त्यो बेला हारेको होइन, जनताको मत विभाजन भएको हो, तर अब फेरि जनताको मत नेपाली कांग्रेससँग जोडिएको छ । त्यसैले पनि निर्वाचनमा जनमत कांग्रेसको पक्षमा आउनेमा म विश्वस्त छु । किनकि नेपाली कांग्रेस नै राष्ट्रिय राजनीतिको मूलधार हो । यसमा आममतदाता पनि आउँछन् भन्ने मलाई पूर्ण विश्वास छ ।
पार्टीभित्रको घात÷अन्तर्घातको सम्भावनालाई कसरी व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ?
मलाई घात, अन्तर्घातको विश्वास छैन । किनकि लोकतन्त्र, विकास निर्माणमा सबैको हातेमालोको अपेक्षा हो । मैले पनि कुनै खेमाबाट टिकट पाएको होइन । कांग्रेसले जुझारु नेता भनेर टिकट दिएको हो । म एउटा व्यक्तिमात्रै हुँ, उम्मेदवार मलाई कांग्रेसले बनाएको हो । त्यसैले अन्तर्घातको मैले परिकल्पना पनि गरेको छैन । किनकि व्यक्तिगत स्वार्थले म राजनीतिमा आएको होइन । यहींकै जनताको जनजीविकाको स्तरोन्नतिका लागि मेरो राजनीतिक यात्रा सुरु भएको हो । नाफामुनाफाका लागि म राजनीतिमा आएको होइन । अब स्वार्थको राजनीति जनताले स्वीकार्नै चाहन्नन् । त्यसैले पनि अन्तर्घातको अवस्था अब हुनै सक्दैन । किनकि सूचना–प्रविधिले पनि कसैले अन्तर्घात गरे क्षमा दिन सक्दैन । अन्तर्घात गर्ने व्यक्ति पार्टीको राजनीतिमा जोडिन पनि सक्दैन । त्यसैले अन्तर्घातको परिकल्पनै छैन ।
खासमा तपाईंका विकास निर्माणका एजेन्डा के के हुन् ?
मेरा भन्दा पनि नेपाली कांग्रेसका विकास निर्माणका एजेन्डामा म अघि बढेको छु । धेरै विकास–निर्माणका योजना दाङमा नेपाली कांग्रेसले नै ल्याएको हो । खुमबहादुर खड्कालाई मैले स्मरण गर्न चाहन्छु, किनकि उहाँ अत्यन्तै विकासप्रेमी नेता हुनुहन्थ्यो । अर्को पटक दीपक गिरी सिंचाइमन्त्री हुँदा पनि धेरै विकास निर्माणका योजनाहरू सुरु भएका हुन् । त्यसलाई पनि निरन्तरता दिन मैले चाहेको हो । कतिपय डिपबोरिङ अझै सञ्चालन भएका छैनन् । यी अधुरा योजनालाई पूरा गर्नु पनि मेरा दायित्व हो । अर्को कुरा दाङ सुर्खेत सडकको स्तरोन्नतिमा पनि मेरो निरन्तर पहल हुनेछ । त्यसैगरी तुलसीपुरको विमानस्थललाई स्तरोन्नति गर्नु पनि मेरो प्रमुख दायित्व हुनेछ । त्यसमा पनि मैले केन्द्रीय नेतासँग लबिङ गर्ने सोच बनाएको छु । पश्चिम दाङको मुहार फेर्ने मेरो उम्मेदवारी हो । पश्चिम दाङमा कृषिको हबको सम्भावना पनि छ । त्यसका लागि व्यावसायिक कृषिको परिकल्पना पनि गरेका छौं । सिंचाइ सुविधाको सहजताका लागि हामीले विभिन्न स्थानमा योजना परिकल्पना पनि गरेका छौं । किनकि हामीले उधारो विकास र उधारो आश्वासन दिन चाहन्नौं, जे बोल्छौं त्यो गर्छौं, जे गर्ने हो त्यही मात्र बोल्छौं ।
कुनैबेला शंकर पोखरेलले हारेको र दीपक गिरीले पनि हारेको क्षेत्रमा तपाईं निर्वाचनको प्रतिस्पर्धामा आउनुभएको छ ? जित्ने आधार भन्नुस् न ?
राजनीतिमा धेरै आरोह–अवरोह हुन्छन् । विभिन्न कालखण्डमा शंकर पोखरेलले हार्नुभयो, दीपक गिरीले पनि हार्नुभयो । त्यो विशेष परिस्थिति थियो । तर अहिले कांग्रेसले हार्ने अवस्थै छैन । अहिले जनता कांग्रेसको पक्षमा आइसकेका छन् । त्यो निर्वाचनको परिणामले देखाउनेछ । तपाईं पनि ढुक्क हुनुस्, यो निर्वाचनमा कांग्रेसको नेपालभरि हार हुने अवस्था छैन । दाङ त एउटा नमुना जिल्ला मात्रै हो । किनकि नेपाली कांग्रेस लोकतन्त्रको पक्षपाती हो, विकास निर्माणको पक्षपाती हो अनि जनताको पार्टी हो ।
अन्त्यमा आममतदातालाई कारोबारमार्फत केही भन्न चाहनुहुन्छ कि ?
सबैभन्दा पहिले तपाँई अनि पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु, निर्वाचनको सँघारमा आममतदातालाई मेरो भनाइ राख्ने अवसर दिनुुभएकोमा । अनि आममतदातालाई पनि आग्रह गर्न चाहन्छु, विकासप्रेमी नेतालाई जिताउनका लागि । हामी चाहन्छौं, पश्चिम दाङको समृद्धि । यो अभियानमा आममतदाताको सहयोगको अपेक्षा हो । आममतदाताले कांग्रेसको समृद्धिको अभियानमा सहयोग गर्नहुनेछ भन्नेमा म विश्वस्त छु । हामी अहिले समृद्धिकै एजेन्डा लिएर जनता माझ गइरहेका छौं ।