डेढ करोड लागतमा कृषि उपज केन्द्र निर्माण
बाजुरा– बाजुरामा कृषि हाटबजारका लागि एक करोड बढी लागतमा कृषि उपज केन्द्र निर्माण भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा कृषि हाटबजारका लागि एक करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
निर्माणका लागि एक भवन बडिमालिका नगरपालिका र तीनवटा भवन सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा संरचना निर्माण गरिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । बडिमालिका नगरपालिका र प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा निर्माण सुरु भएका तीनवटा भवन ठेक्का सम्झौताको एक वर्षमै बने पनि निर्देशनालयकै लगानीको भवन ठेक्का भएको करिब तीन वर्षपछि सम्पन्न भएको नगर प्रमुख खड्काले बताए ।
कृषि उपज संकलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताइन् । संकलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन तथा अनुभवका लागि नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कृषि विकास शाखाको टिम बाहिर गएकाले उहाँहरू आएपछि दसैं अगावै सञ्चालनमा ल्याएर कृषकले उत्पादन गरेका वस्तुलाई संकलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको नगर उपप्रमुख थापाले जानकारी दिइन् ।
कृषि विकास निर्देशनालयका अनुसार २०७८ वैशाखमा एएच कन्स्ट्रक्सनले ४१ लाख ९६ हजार रुपैयँमा ठेक्का सम्झौता भएको थियो । सोही आर्थिक वर्षको असार मसान्तसम्म सक्ने गरी कामको ठेक्का सम्झौता भएको भए पनि दुई वर्ष ढिला गरी निर्माण कार्य सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडुका अनुसार चिस्यान केन्द्र भवन निर्माणको काम सम्पन्न भएर मेसिन जोड्नमात्रै बाँकी रहेको बताए । मेसिन जोड्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने भएकाले केही ढिलाइ भएको र साउन मसान्तसम्म सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा बडिमालिका नगरपालिकाको ११ लाख ८३ हजारमा ठेक्का सम्झौता भएर भवन निर्माण कार्य सम्पन्न भइसकेको जनाएको छ ।
त्यस्तै प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा एक भवन २०८० पुस १ गते र अर्को २०८१ वैशाख १ गते ठेक्का सम्झौताअनुसार असार मसान्तसम्म निर्माण कार्य सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । संरचना निर्माणको जिम्मा लिएको हरिष कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बडिमालिका नगरपालिकाले ५२ लाखमा ठेक्का सम्झौता गरेर काम सम्पन्न भएको ठेकेदार अर्जुनबहादुर थापा बताए ।
मौसमअनुसार उत्पादन हुने कृषिजन्य वस्तुलाई बेमौसमी समयमा बिक्रीवितरण गर्न र बजारमा बिक्री हुन नसकेका तरकारी तथा फलफूललाई भण्डारण गर्ने चिस्यान केन्द्र समयमै निर्माण नहुँदा समस्या झेल्दै आएको किसान जंग विकको गुनासो छ । जिल्लामा कृषि हाटबजार नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बारीमै कुहिने तथा मार्तडीका सडकका गल्ली तथा डिलमा बसेर बिक्री गर्नपर्ने जस्ता समस्या रहेको भन्दै तत्काल हाटबजार सञ्चालन गर्न कृषकले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
समयमै कृषि हाटबजार सञ्चालनमा आए जिल्लाका किसानको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठूलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताए । बाजुरामै चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि जिल्लामा उत्पादन हुने आलु, बन्दा तथा सुन्तला, स्याउलगायतका फलफूल भण्डारण गर्न सहयोग पुग्ने छ ।