अझै सुरु भएन राहुघाट निर्माण «

अझै सुरु भएन राहुघाट निर्माण

ठेक्का सम्झौता भएको तीन महिना बिते पनि म्याग्दीको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अझै सुरु हुन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गतमंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसियट्ससँग छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको तीन महिनासम्म पनि आयोजना निर्माण सुरु नहुँदा स्थानीय सरोकारवाला निराश भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । “आयोजना निर्माणमा भएको ढिलाइले पुरानै समस्या दोहोरिने चिन्ता छ,” शाक्यले भने, “सन २०२१ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि तीन महिना त्यत्तिकै बित्यो ।”
दुई साताअघि म्याग्दी आएका आयोजनाका प्रमुख श्रीराम पाण्डेले स्थानीय सरोकारवालालाई आयोजनाको ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा कम्पनी स्वीकृतिका लागि पठाएको पत्रको उत्तरको प्रतीक्षामा रहेको बताएका थिए । इन्जिनियरिङ, प्रोक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) मोडेलमा निर्माण हुन लागेको आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम गर्न छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनीले माघदेखि नै परिचालित हुने तयारी गरेको थियो । ३२ मेगावाट क्षमतामा डिजाइन गरिएको आयोजना पुनः डिजाइनका क्रममा आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको थियो ।
वि.सं २०७० मा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको राहुघाटको सिभिल ठेकेदार आईभीआरसीएल टाट पल्टिएपछि उसँगको ठेक्का तोडेर नयाँ ठेकेदार छनोट गरेर आयोजना बनाउन लागिएको हो । रघुगंगा गाउँपालिकाको पिप्ले, दग्नाम र झिमा आयोजनाका लागि आवश्यक २८२ रोपनी अधिग्रहण भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण लगभग भइसकेको छ । तर, बाँधस्थलमा निर्माण गर्नुपर्ने आधारशिविरका लागि थप जग्गा खरिद गर्न आयोजनाले अधिग्रहणको काम अगाडि बढाएको छ ।
सुरुमा ३२ मेगावाटका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, आठ मेगावाट थपिने भएपछि आयोजनाले पुनः जग्गा अधिग्रहण गर्न लागेको हो । राहुघाट कालिगण्डकीको सहायक नदी हो । उक्त आयोजना कम्पनी मोडेलमा निर्माण गर्न लागिएको छ ।
दुई साताअघि रघुगंगा गाउँपालिका–३ पिप्लेमा रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताए । कर्मचारी र सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने योजना छ । रघुगंगा गाउँपालिकाको झिँ र दग्नामको सिमानामा बाँध रहने आयोजनाको विद्युत्गृह बेनी जोमसोम सडक छेउमा पर्ने तिल्केनीचौरमा रहने बताइएको छ । पिप्लेमा आवासगृह भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहदेखि बाँध रहने ठाउँसम्म ट्र्याक खोलिएको छ । पुरानो कम्पनीले ६३ मिटरमात्र सुरुङ खनेको थियो । यो आयोजनाबाट उत्पादित विद्युत् कालिगण्डकी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्