Logo

मौद्रिक नीतिले झनै बढायो सेयर कारोबार

काठमाडौं– दुई ठूला दलहरु कांग्रेस र एमालेको सरकार बनेपछि बढ्न थालेको सेयर बजारले मौद्रिक नीति आएपछि झन् गति लिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजारमा एकैदिन ११३.४२ अंकको वृद्धि भएको छ । राष्ट्र बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएपछि लगानीकर्ताको मनोबल बढेको हो ।

आइतबार १२ बजेर २ मिनेटमा नेप्से परिसूचक २७०८.५८ विन्दुमा पुगेको थियो । तर, विस्तारै घटबढ हुँदै अन्तिममा ४.४१ प्रतिशतको वृद्धिसहित २६८१.५६ विन्दुमा अडिएको छ । लचिलो, सहज र लगानीमैत्री मौद्रिक नीति आउँदा सेयर बजारमा उल्लास छाएको लगानीकर्ताहरूले बताएका छन् । बजार खुलेदेखि नै बैंकिङ समूहको सूचक सबैभन्दा बढी ९.८९ प्रतिशत बढेको छ । इन्ट्रा डेमा २ पटकसम्म नेप्सेमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतबार बैंकिङ समूह उच्च दरले बढेपछि सकारात्मक सर्किट लागेको हो ।

बैंकका लागि मौद्रिक नीतिमा सहज व्यवस्था आएकाले पनि लगानीकर्ता त्यसतर्फ आकर्षित भएका हुन् । मौद्रिक नीतिले वाणिज्य बैंकहरूको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशतमात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको छ ।
यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्कमा संशोधन गर्ने घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा २ करोड रुपैयाँबाट बढाएर साढे २ करोड पु¥याइनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउने जस्ता व्यवस्थाले बैंकहरूको नाफा बढाउने भएपछि लगानीकर्ता वाणिज्य बैंकतर्फ आकर्षित भएका हुन् ।

एक महिनामा झण्डै ३५ प्रतिशत बजार बढेको छ, जुन उल्लेख्य वृद्धि भएको सेयर बजारका जानकार अम्बिर बोगटी बढाउँछन् । सरकारको नीतिगत सम्बोधन खोजेर बसेका लगानीकर्ताको मनोबल बलियो बनेको उनले बताए । बोगटीले भने, ‘एक महिनामा ३५ प्रतिशत हाराहारीमा सेयर बजार बढेको छ । यो धेरै नै वृद्धि हो । सरकारले लगानीकर्ताको अपेक्षालाई सम्बोधन गरेकाले पनि बजार बढ्न सहयोग मिल्यो ।’

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मन्दी तथा नीतिगत कडाइका कारण करिब ३ वर्ष घट्दो अवस्थामा रहेको सेयर बजारमा अहिले मौद्रिक नीति लचक बन्दा लगानीकर्ताको मनोबल बढेको बताए । पुँजीबजार एकदमै तल्लो अवस्थामा पुगिसकेको अवस्थामा यससम्बन्धी नीति सच्चिनुपर्ने आवश्यकतालाई राष्ट्र बैंकले सम्बोधन गर्दा सेयर बजारमा वृद्धि आएको उनको भनाइ छ । संस्थागत लगानीकर्तालाई कर्जाको सीमा हटेका कारण लगानीकर्तामा विश्वास बढेको उनले बताए । ‘आजको दिनमा बैंकमा पैसा राख्दा करिब ५ प्रतिशतमात्रै ब्याज पाइने अवस्थामा अब सेयर बजारमा संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था सिर्जना भएको छ,’ ढकालले भने । अस्थिर राजनीतिलाई चिर्दै दुई ठूला दल मिलेर सरकार चलाउँदा अब स्थायित्व आउने अपेक्षाले पनि लगानीकर्ताको मनोबल बढेको ढकाल बताउँछन् ।

लगानीकर्ता चनाखो बन्नुपर्छ
अहिले संस्थागत लगानीकर्ताले बजारमा सेयर बढी किनिरहेको अवस्था छ । यस्तो अवस्थामा साना लगानीकर्ताले पूरै अध्ययन गरेर चनाखो भएर सेयर कारोबार गर्नुपर्ने बोगटीले बताए । ‘फण्डामेन्टल हिसाबमा बलिया कम्पनीहरूको कारोबार बढिरहेको छ, जुन राम्रो हो,’ बोगटीले भने, ‘त्यस्ता कम्पनीमा लगानी गर्दा लगानीकर्ता नफस्ने सम्भावना बढी हुन्छ । तर दिनका दिन सर्किट लागेका कम्पनीमा केही तत्व छिर्‍यो भन्ने बुझ्न सकिने भएकाले निकै चनाखो हुनु जरुरी हुन्छ ।’
बजार धेरै वृद्धि हुँदा करेक्सन भने सामान्यमात्रै हुने उनले बताए । बलिया कम्पनीहरूको सेयर मूल्य बढिरहेकाले धेरै नै करेक्सन आउने सम्भावना नहुने उनको भनाइ छ । ‘सेयर बजारमा करेक्सन त आउँछ नै । तर अहिले २ हजार विन्दुबाट २७ सय विन्दु पुगेको छ । अब घटेर २५ सयमा पुग्यो भने त्यो ठूलो गिरावट होइन,’ बोगटीले भने ।

सेयर बजारमा सामान्य करेक्सन आवश्यक पर्ने भन्दै अध्यक्ष ढकालले पनि अहिले बजारबाट आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । अंकमा एक डेढ सय अंकको करेक्सन आए पनि त्यो सामान्य हुने उनी बताउँछन् । अहिले लगानीकर्ताका लागि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । मौद्रिक नीतिका कारण बैंकको नाफा बढ्ने अवस्था सिर्जना भएकाले पनि बैंकिङतर्फ आकर्षण बढेको ढकालको भनाइ छ । ‘अहिले लगानीकर्ता आफैंले सचेत भएर, बुझेर लगानी गर्नुपर्छ । अरुको लहैलहैमा लाग्नु हुँदैन । यति भएपछि लगानी सुरक्षित हुन्छ,’ उनले भने ।

आइतबारको कारोबार
आइतबार कारोबारमा आएका ३१८ वटा धितोपत्रको ४ करोड ३ लाख १४ हजार ५१ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटकमा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये १२ वटाको मूल्य १० प्रतिशतका दरले बढेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेण्ट नेपालको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले बढेको हो ।

बजारमा उल्लास छाउँदाछाउँदै पनि आइतबार सबैभन्दा बढी ०.३५ प्रतिशतले गणपति लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ५.७१ प्रतिशत घटेको छ । आइतबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा कुमारी बैंकले ओगटेको छ । यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये लघुवित्त समूहको सूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकीको बढेको छ । जसमध्ये सबैभन्दा बढी बैंकिङ समूहको ९.८९ प्रतिशतले बढ्दा लगानी समूहको ५.७५ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत र जीवन बिमा समूहको सूचक ४.२४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्