Logo

लमजुङका स्थानीय तहबाट करिब तीन करोड फिर्ता

लमजुङ– लमजुङका स्थानीय तहबाट गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको बजेटमध्ये करिब तीन करोड रुपैयाँ फिर्ता भएको छ । विभिन्न शीर्षकमा आएको संघीय बजेटमध्ये जिल्लाका आठ स्थानीय तहबाट एकमुष्ठ दुई करोड ९९ लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार स्थानीय तहमध्ये गत आर्थिक वर्षमा क्व्होलासोँथार गाउँपालिकाले सबैभन्दा बढी रकम फिर्ता गरेको छ । संघीय सरकारबाट विनियोजित बजेटमध्ये गत आर्थिक वर्षमा क्व्होलासोँथार गाउँपालिकाले एक करोड ६२ लाख खर्च गर्न नसकी फिर्ता गरेको हो । गत आर्थिक वर्षमा क्होलासोँथार गाउँपालिकामा संघीय सरकाबाट विभिन्न शीर्षकमा १० करोड ६८ लाख रुपैयाँ आएकोमा नौ करोड पाँच लाख रुपैयाँ खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ ।

त्यसैगरी धेरै रकम फिर्ता गर्ने दोस्रो नम्बरमा बेसीसहर नगरपालिका रहेको छ । बेसीसहर नगरपालिकाबाट मात्रै विभिन्न शीर्षकमा संघीय सरकारबाट आएको कुल बजेटमध्ये ४३ लाख रुपैया फिर्ता भएको हो । बेसीसहरमा गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा २१ करोड ४७ लाख रुपैयाँ आएको थियो । सोमध्येबाट २१ करोड तीन लाख रुपैया खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ । त्यसैगरी गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको बजेटमध्ये जिल्लाको राइनास नगरपालिकाले पनि ३५ लाख रुपैयाँ फिर्ता गरेको छ ।

राइनासले संघीय सरकारबाट गत आर्थिक वर्षमा १२ करोड ३८ लाख रुपैयाँ पाएकोमा १२ करोड दुई लाख रुपैयाँ खर्च गरेको हो । त्यसैगरी जिल्लाको मस्र्याङदी गाउँपालिकामा गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको १४ करोड ४६ लाख रुपैयाँमध्ये १४ करोड २५ लाख रुपैयाँ खर्च गरी बाँकी रकम २० लाख रुपैयाँ फिर्ता गरेको कोलेनिकाको विवरणमा उल्लेख छ ।

सुन्दरबजार नगरपालिकाले पनि गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको बजेटमध्ये १५ लाख रुपैयाँ फिर्ता पठाएको छ । सुन्दरबजारले गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको कुल बजेट १५ करोड ७५ लाख रुपैयाँमध्ये १५ करोड ६० लाख रुपैयाँ खर्च गरेको कोलेनिकाले जनाएको छ । त्यसैगरी दूधपोखरी गाउँपालिकाले संघीय सरकारबाट प्राप्त कुल बजेट ११ करोड ६२ लाख रुपैयाँमध्ये ११ करोड ५२ लाख रुपैयाँ खर्च गरी नौ लाख रुपैयाँ खर्च गर्न नसकी फिर्ता पठाएको छ ।

कम बजेट फिर्ता गर्ने नगरपालिकामध्ये मध्यनेपाल नगरपालिकाले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको १६ करोड २० लाख रुपैयाँमध्ये १६ करोड ११ लाख खर्च गरी खर्च हुन नसकेको बाँकी आठ लाख ९५ हजार रुपैयाँ फिर्ता गरेको छ । जिल्लामा सबैभन्दा कम रकम फिर्ता गर्नेमा दोर्दी गाउँपालिका रहेको छ । दोर्दीमा गत आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त १२ करोड ७८ लाख रुपैयाँमध्ये १२ करोड ७५ लाख रुपैयाँ खर्च गरी बाँकी रकम दुई लाख ४१ हजार रुपैयाँ फिर्ता गरेको कोलेनिका विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्