भैसेडीमा ४ करोडको पक्की पुल
जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ स्थित हिमा नदीमाथि भैसेडीमा पक्की पुल निर्माण गरिएको छ । कनकासुन्दरीका सुन्दरी बस्तीलाई यातायातको पहुँचमा पुर्याउन पूर्वाधार विकास कार्यालय जुम्लाले नयाँ प्रविधिको (प्रि–स्ट्रेस कंक्रिट पुल) पक्की पुल निर्माण गरेको हो ।
हिमाली क्षेत्रमा निकै जोखिमयुक्त मानिने प्रि–स्ट्रेस कंक्रिट पुलको निर्माण गर्न पूर्वाधार विकास कार्यालय जुम्ला सफल भएको छ । यस्तो प्रकृतिको पुल निर्माण निकै सावधानी नअपनाए अन्तिमा पुल चर्किने समस्या देखापर्ने आयोजनाको दाबी छ । तर पूर्वाधार विकास कार्यालयको नियमित निरिक्षण, निगरानी, मापदण्ड र स्टिमेटनुसार पुल निर्माण सञ्चालनमा आएको हो ।
गाउँगाउँमा सडक पुगे पनि पुल नहुँदा कनकासुन्दरी–४ र ५ का नागरिक यातायात सेवाबाट वञ्चित थिए भने झोलुंगे पुलकै सहारामा आवतजावत गर्नुपर्ने बाध्यता थियो । भैसेडीमा पक्की पुल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसँंग जोड्न र स्थानीयको दैनिकीसमेत सहज बन्दै जाने अपेक्षा गरिएको छ । भैसेडीमा विभिन्न जटिलताका बीच पक्की पुल निर्माणकार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बताए ।
उनले भने, ‘विभिन्न चुनौतीका बीच पुल सम्पन्न भएको छ । अब आवतजावतमा सहज हुने अपेक्षा छ । पुलको दुई साइटमा आरसिसी गर्ने हालको टेण्डरबाट नभएको र नयाँ टेण्डर गरी आरसिसी गर्ने तयारी छ ।’ पुलको लागत अनुमान भने चार करोड ६१ लाख रुपैयाँको गरिए पनि पुल निर्माणका लागि भ्याटसहित कुल चार करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यायलले जनाएको छ ।
पुल निर्माणको जिम्मा एडी बिल्डर्स बौद्ध–७ काठमाडौंले लिएको थियो । ०७९ असार २९ गते कार्य सम्झौता भई २०८१ असार २५ गते काम सम्पन्न गर्नुपर्ने सम्झौताबमोजिम निर्माण व्यवसायीले समयमै काम सकाएको छ । पुल निर्माण आयोजना पूर्वाधार विकास कार्यालयले पूर्ण कार्यान्वयन गरे पनि स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको छ ।
भैसेडी पुलबाट कनकासुन्दरीका स्थानीय बासीलाई जुम्ला सदरमुकाम आउन निकै छोटो हुनेछ । सदमुकामसम्म सडक जोडिएमा कनकासुन्दरी सिधै सदरमुकामसँंग जोडिने भएको छ । दुर्गम गाउँमा पहिलो पटक पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । पूर्वाधार विकास कार्यालयले विनियोजित कार्यक्रमअन्तर्गत सडक निर्माण, ग्राभेल, स्तरोन्नति लगायतका कामलाई विशेष प्राथमिकताका साथ अघि बढाएको छ ।