पाल्पामा हावाबाट विद्युत् उत्पादन

पाल्पामा हावाबाट विद्युत् उत्पादनपाल्पामा हावाबाट विद्युत् उत्पादनअमृत अधिकारीपाल्पा, ९ फागुनपाल्पाको निस्दी गाउँपालिकामा हावावाट विद्युत् उत्पादन गरिएको छ । नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डले हावाको बेगको परीक्षणपश्चात अहिले निस्दी गाउँपालिका–३, रुक्से भाञ्ज्याङ्मा हावाबाट विद्युत् उत्पादन थालिएको हो ।
काठमाडौं अल्टरनेटिभ पावर एन्ड इनर्जी ग्रुप र जनताका लागि ऊर्जा तथा वातावरणीय विकास संस्थाको संयुक्त साझेदारीमा करिब ४० लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली उत्पादन गरिएको हो । यहाँ हावाबाट बिजुली निकाली दुईवटा कार्यालयमा जडान गरिएको छ, गाउँपालिकाको कार्यालयनजिकै रहेका स्वास्थ्य चौकी र वडा कार्यालयमा आवश्यक विद्युत् हावाबाट निकालेर कार्यालयमा आएका सेवाग्राहीलाई सेवा प्र्रदान गरिएको निस्दी गाउँपालिका–३ का वडाध्यक्ष न्यौबहादुर सुनारीले बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डको १५ महिनाको हावाको बेगको सफल परीक्षणपछि सोलार शक्ति र हावाको ऊर्जा जडान गरी अहिले २.४ डायमिटर विद्युत् उत्पादन गरिएको काठमाडौं अल्टरनेटिभ पावर एण्ड इनर्जी ग्रुपका म्यानेजर खिमन सिल्वालले बताए । उनका अनुसार कम्पनीले यसअघि भारतको दुई स्थानमा हावाबाट विद्युत् उत्पादन गरिएको बताए ।
हावा र सौर्यको मिश्रित प्रणालीले बाह्रै महिना व्याट्री चार्ज हुने र हावा नलाग्ने समय असार, साउन, भदौ, असोज महिनामा पनि विद्युत् उत्पादन भइरहने सिल्वालको भनाइ छ । विद्युत् उत्पादन सफल भएपछि यहाँको स्थानीय सरकार वडा र गाउँपालिकालाई लगानी गर्ने संस्थाले भौतिक संरचना र प्रविधिसमेत हस्तान्तरण गरेको जनताका लागि ऊर्जा तथा वातावरणीय विकास संस्थाका प्रोजेक्ट इन्चार्ज तपेन्द्र चन्दले बताए । उनले छिमेकीगाउँ र पाल्पाका अन्य ग्रामीण भेगमा समेत हावाबाट ऊर्जा उत्पादन गरेर अँध्यारो रहेका गाउँउज्यालो बनाउन सकिने बताए । गाउँपालिकाले अन्य स्थानमा समेत लगानी गर्ने वातावरण बनाएमा सबै खालको सहयोग गर्न तयार रहेको चन्दले बताए ।
हावाबाट बिजुली निकालेर प्रयोगमा ल्याएपछि स्थानीयबासी, जनप्रतिनिधिसमेत पहिलोपटक गाउँबाटै सेवा लिन पाउँदा दंग छन् । हावाबाट बिजुली बल्ने भएपछि कम्प्युटर, इमेल–इन्टरनेट, फोटोकपी, फ्याक्सको सेवा सहज भएको वडाध्यक्ष सुनारीले बताए । हावाबाट निकालिएको विद्युत्ले मित्याल स्वास्थ्यचौकीमा राति तथा दिउँसो सेवा लिन आएका सेवाग्राही, सुत्केरी महिला, घाइते तथा दुर्घटनामा परेका मानिसलाई सेवा दिन सहज भएको छ भने स्थानीय बासिन्दा मोबाइल चार्ज गर्न यहाँ आउने गरेका छन् । स्थानीय निरज सुनारीले भने हावाबाट विद्युत् उत्पादन भएको देख्दा हामी दंग परेका छौं। निस्दी गाउँपालिका रुक्से भञ्ज्याङ्मा जडान गरिएको वायु ऊर्जाको टावर । तस्बिर ः कारोबार