व्यावसायिक कृषिको नेतृत्व सहकारीले गर्नुपर्छ : भट्टराई «

व्यावसायिक कृषिको नेतृत्व सहकारीले गर्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषिको व्यावसायिकरण गर्नका लागि सहकारीले नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपालमा निर्वाहमुखी कृषिबाट विस्तारै व्यवसायिक हुन थालेको र यसलाई सहकारीले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । “औद्योगिक क्रान्ति गरेका पुँजीवादी देशहरुमा त सहकारीको भूमिका उच्च छ” श्री लालीगुराँस सहकारी संस्थाको वार्षिक साधारणसभामा बोल्दै डा. भट्टराईले भने, “औद्योगिकरण र पुँजीवादीकरणतर्फ लागेको नेपालको आर्थिक विकासमा सहकारीले ठूलो भूमिका खेल्न सक्छ । उत्पादन, उपभोक्ता र वित्तीय सहकारीको उचित संयोजन मिलाएर परिचालन गर्नुपर्ने उनले उल्लेख गरे ।
डा. भट्टराईले आफू प्रधानमन्त्री र अर्थमन्त्री रहँदा सहकारीलाई प्रवद्र्धन गर्न काम गरेपनि त्यसको निरन्तरता नभएको गुनासो गरे । उनले आफू प्रधानमन्त्री हुँदा सहकारीको प्रवद्र्धन गर्नका लागि छुट्टै मन्त्रालय स्थापना गरेको र अर्थमन्त्री हुँदा प्रत्येक गाउँमा एक सहकारी स्थापना गर्न काम गरेको जानकारी दिए ।
सहकारीमा केहि विकृित देखिएको भएपनि विकासमा बाधक पुग्ने गरी कडा नियम ल्याउन नहुनेमा डा. भट्टराईले जोड दिए । “नियमन र पारदर्शितामा जोड दिन आवश्यक छ । तर धेरै नियमन गर्ने नाममा डोरीले बाध्ने काम नगरौं” उनले भने ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले १० वर्षमा सहकारीको संख्या ५ हजारमा झार्नुपर्ने बताए । सहकारीलाई काम गर्नका लागि विभिन्न विषयका कानुन बाधा अड्चन रहेको भन्दै त्यसलाई सुधार गर्न पहल सुरु गरिएको जानकारी दिए । महासंघकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंकी सञ्चालक ओमदेवी मल्लले नयाँ सहकारी ऐनले काम गर्न अप्ठेरो भएको गुनासो गर्दै त्यसलाई सुधार गर्नुपर्ने आवश्यक्ता औल्याइन् । महासंघका सञ्चालक तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सहकारीको कारोबार सुरक्षित गर्न तत्कालै कर्जा सूचना केन्द्र आवश्यक गरेको बताए ।
२१ हजार सेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षसम्ममा ५ अर्ब ३५ करोड निक्षेप संकलन ४ अर्ब १८ करोड ऋण लगानीबाट १३ करोड ८० लाख खुद नाफा गरेको छ । उक्त नाफाबाट सदस्यलाई १३ प्रतिशत नगद र ५ प्रतिशत सेयर गरी १८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।
पुल्चोकमा केन्द्रीय कार्यालय रहेर ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर सञ्चालन गरिरहेको संस्थाले चालु वर्षभित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगञ्ज, भक्तपुरको सूर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।
बचत ऋण कारोबारका साथै संस्थाले ललितपुरमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज, चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकमा भैरवकुण्ड हाइड्रोपावरमा लगानी गरेको छ । संस्थाले छिट्टै डेरी उद्योग र एटिएम काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्