मोक्षदाको मञ्जरीमा उड्की–मुड्कीको रमाइलो «

मोक्षदाको मञ्जरीमा उड्की–मुड्कीको रमाइलो

एउटा सानो, चिटिक्कको, सामान्य साजसज्जाको रंगमञ्च, रंगमञ्चमा भिन्नभिन्न भूमिकामा सबै बालकलाकार, दर्शक दिर्घामा सांसद, विभिन्न स्कुलका प्रधानाध्यापक, पत्रकार, रंगकर्मी, शिक्षक र विद्यार्थी । हो, यस्तै परिदृश्य देखिन्थ्यो काठमाडांैको कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी थिएटरभित्र । शुक्रबार साँझ स्पेस नाट्य संस्था र मञ्जरी थिएटरको पहिलो संयुक्त प्रस्तुति नाटक उड्की–मुड्कीको पहिलो सो सुरु हुनुअघिको परिवेश थियो यो ।
मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका ११ जना छात्रछात्राको अभिनय रहेको नाटक उड्कीमुड्कीले एउटा स्कुलको कक्षाभित्रको कथाव्यथा बोकेको छ । कक्षाकोठाभित्र देखिने विद्यार्थीका चकचके हर्कत, रमाइला क्रियाकलाप, बालसुलभ अबोध जिज्ञासा र तिनै अबोध जिज्ञासाभित्र लुकेका गम्भीर पाटालाई कथाकार तथा निर्देशक सुरेश चन्दले रंगमञ्चमा उतार्ने कोसिस गरेका छन् । नाटकभित्र एउटी शिक्षिकाको विद्यार्थीप्रतिको माया, समर्पण र प्रेरणा पनि देख्न सकिन्छ । नाटकले विद्यार्थीको चकचक र उटुंग्याहा रमाइला क्रियाकलापकै बिचमा मज्जाले हँसाउँदा हुँसाउँदै द्वन्द्वकालीन समयमा पुराएर जुम्लाकी एकजना महिलाको पीडा सुनाएर कतिखेर दर्शकलाई भावविह्वल बनाइसकेको हुन्छ, पत्तै हुँदैन ।
३ देखि ६ कक्षासम्मका छात्रछात्राले पहिलोचोटि रंगमञ्चमा अभिनय गर्दै गरेको हुनाले अभिनयमा सुधार गर्नुपर्ने धेरै ठाउँ भेटिन्छ । तैपनि, शिक्षिकाको भूमिकामा कक्षा ६ की छात्रा उपहार लिम्बूले गज्जबको न्याय गरेकी छिन् । नाटक हेर्दै गर्दा उनको आवाजबाहेक कुनै पनि कोणबाट ६ कक्षा पढ्दै गरेकी फुच्ची हुन् जस्तो लाग्दैन । नाटकमा उनी एउटी साँच्चैकी शिक्षिका देखिएकी छिन् । त्यसैगरी विद्यार्थीको भूमिकामा चुलबुले पाराकी देखिने आकृति तिमल्सेना जुम्लाकी महिलाको कथाव्यथामार्फत दर्शकलाई भावुक बनाउन सफल भएकी छिन् । त्यसैगरी तारा लामा, खुसी हमाल, सामना श्रेष्ठ, संगीत श्रेष्ठ, आर्यन चन्द, अधीश चन्द, समृद्धि दाहाल, भवेश पौडेल, प्रिन्स वाग्लेलगायतको अभिनय पनि प्रशंसनीय छ । लगभग एक घन्टा १५ मिनेट लामो नाटक हेर्दै जाँदा बिचबिचमा आउने देउडादेखि विभिन्न नेपाली तथा अंग्रेजी गीत संगीत पनि श्रवणीय छन् । समग्रमा मञ्जरी थिएटर र स्पेस नाट्य संस्थाको पहिलो प्रस्तुति उड्की–मुड्की ससाना स्कुले बालबालिकादेखि प्रौढ जुनसुकै उमेरका दर्शकलाई पनि मनोरञ्जन गराउन सफल हुने देखिन्छ ।
नाटक प्रदर्शनीपश्चात आयोजित अन्तक्र्रियामा सांसद गगन थापाले नाटक हेर्दै गर्दा आफूलाई आफ्नो स्कुलका दिनहरूको सम्झना आएको बताए । ‘उड्की–मुड्की हेर्दै गर्दा म मेरो स्कुलका दिनहरूलाई सम्झिरहेको थिएँ,’ थापाले भने, ‘नाटकले कतिखेर हँसायो र कतिखेर रुवायो पत्तै भएन ।’ उनले यस्ता नाटकहरूले बालबालिकाको प्रतिभालाई उजागर गर्न सहयोग पुराउने बताउँदै मञ्जरी थिएटर, स्पेस नाट्य संस्था र मोक्षदा स्कुलले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै, उनले यस नाटकले ससाना बालबालिकादेखि अभिभावकसम्म सबैलाई एक घन्टासम्म मज्जाले बाँधेर राख्ने बताए ।
सो अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोख्रेलले नाटक आफूले सोचेभन्दा निकै राम्रो भएको बताए । ‘ससाना भाइबहिनीहरूको नाटक भनेको सुन्दा सामान्य कुनै नाटक होला भन्ने सोचेर आएको थिएँ,’ यहाँ नआएको भए निकै ठूलो अवसर गुम्ने रहेछ ।’ नाटकले हँसाउँदाहँसाउँदै रुवाइदिएको बताउँदै पोख्र्रेलले सामान्य स्कुलको कक्षाकोठाभित्रका कथाव्यथामा रमाउँदा रमाउँदै आफूलाई मध्य र सुदूर पश्चिमको कथाव्यथा सम्झाइदिएको बताए । उनले नाटकले बालबालिकाको सिंगो संसार बोकेको पनि बताए ।
निर्देशक चन्दले आफूले विगतमा गुरुकुलमा बस्दा सिकेको ज्ञान अहिले स्कुले भाइबहिनीलाई बाँड्ने जमर्को गरेको बताए । उनका अनुसार आगामी दिनमा पनि मञ्जरी थिएटर र स्पेस नाट्य संस्थाको सहकार्यबाट विद्यार्थीद्वारा विद्यार्थीकै लागि नियमित नाटक मञ्चन गरिराख्ने बताए । शुक्रबार सुरु भएको नाटक उड्की–मुड्की यही १९ फागुन, शनिबारसम्म हरेक दिन ४ः३० बजे मञ्चन हुने पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्