किसानले फलाएको रुख कटहरबाट वाइन

गोरखा– गोरखाको शहिद लखन गाउँपालिका–४ ताक्लुङले गाउँमा फलेका रुखकटहरबाट वाइन बनाउन सुरु गरेको छ । किसानले फलाएका रुख कटहरको सदुपयोग गर्दै वाइन बनाउने प्रक्रिया थालेको वडा अध्यक्ष यमबहादुर थापाले बताए । वाइन बनाउनका लागि वडा कार्यालयले किसानसँग प्रतिकिलो २ रुपैयाँमा कटहर खरिद गरेको छ ।
वडामा १० टन भन्दा बढी कटहर उत्पादन भएपनि पहिलो चरणमा १ टन खरिद गरी वाइन बनाउन प्रशोधन थालेको उनले बताए । ‘स्थानीय उत्पादनको उपभोग गरी बाह्य आयात रोक्ने उद्देश्य छ’ उनले भने, ‘यो वडामा ८२ प्रतिशत मगर समुदायको बसोबास छ । यो समुदायलाई जन्मदेखि मृत्युसम्मका संस्कारमा रक्सी चाहिन्छ । अहिले बाहिरबाट आयात भएका महंगा रक्सी प्रयोग हुँदै आएका छन् । त्यसलाई रोकेर स्थानीय उत्पादनलाई बढावा दिई किसानको आयआर्जन बढाउने लक्ष्य हो ।’
हाल वडा कार्यालयका कर्मचारी र वैदेशिक रोजगारबाट फर्केका गरी ७ जना यस कार्यमा जुटेका छन् । पहिलो चरणमा १ टन कटहरबाट करीब ३५० लिटर वाइन उत्पादन गर्न सकिने अनुमान गरिएको छ । यो वर्ष परीक्षणका रुपमा वाइन बनाउने तयारी भएकाले स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र सीप नै प्रयोग गरिने उनले बताए । पाकेको कटहरको गुदीमा मर्चा मिसाएर विभिन्न प्रक्रिया पूरा गरी वाइन बनाउन करीब १ महिना लाग्ने यसमा संलग्नहरुले बताएका छन् ।
उत्पादन भएपछि यसको खाद्य गुणस्तर मापनका लागि ल्याब टेस्ट पनि गर्ने योजना रहेको उनले सुनाए । ‘यो वर्ष परीक्षणका रुपमा उत्पादन गर्छौं’ वडा अध्यक्ष थापाले भने, ‘अर्को वर्ष यसको प्रभावकारीता हेरेर बजार विस्तार पनि गर्छौं । व्यावसायिकरणका लागि प्रशोधन तथा उत्पादनमा आवश्यक उपकरण पनि खरिद गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्छौं ।’
मानव जीवनका लागि बहुउपयोगी मानिने रुख कटहरको परम्परागत उत्पादनलाई व्यावसायिक बनाउने पनि वडा कार्यालयको योजना रहेको उनले बताए । त्यसैले किसानलाई रुख कटहर लगाउन वडा कार्यालयले गत वर्षदेखि नै ‘एक घर १० कटहर’ कार्यक्रममार्फत प्रोत्साहन गरेको थियो । कटरहरको उत्पादकत्व वृद्धि गर्दै स्थानीयको आयआर्जनको पहुँचमा पुर्याउन यो वर्ष पनि रोप्नका लागि कटहरको बिउ बाँड्ने वडा अध्यक्ष थापाले बताए ।
गर्मी सिजनमा फल्ने रुख कटहरको उत्पादन बढी र उपभोग कम हुँदा त्यसै खेर जाने गरेको थियो । खेर जाने फल किनेर वडा कार्यालयले वाइन बनाउन थालेपछि स्थानीय पनि खुसी भएका छन् । आयातित वस्तुको उपभोगमा न्यूनीकरण गर्दै स्थानीय अर्गानिक उत्पादनको उपभोगमा वृद्धि गर्न अन्य वैकल्पिक र व्यवसायिक खेती प्रणालीको खोजी गर्दै जाने योजना रहेको वडा अध्यक्ष थापाले बताए ।