आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा गिडिदह
पदमार्ग र धर्मशाला निर्माण, तालको क्षेत्रफल मापन
जुम्ला– कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य गिडिदह यतिबेला चर्चामा छ । तातोपानी गाउँपालिका–४ को सिरानमा अवस्थित गिडिदहको प्रवर्द्धनमा पालिका जुटेसँंगै गिडिदह चर्चामा छ भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।
गुमनाम गिडिदहको प्रवर्द्धनका लागि पहिलो पटक वडाको आयोजनामा २०७९ असोज ४–६ गतेसम्म ८४ जनाको सरकारी टोली गिडिदह पुगेको थियो । गिडिदह किनारमै गिडिदह सम्मेलन गरी घोषणापत्र जारी गरिएको थियो । गिडिदहको पूर्वाधार विकास, प्रचारप्रसार, पदमार्ग निर्माणलगायतका संरचना बनाउने घोषणापत्र जारी गरिएको थियो ।
समुद्री सतहदेखि ३५८४ मिटर उचाइमा अवस्थित गिडिदहको प्रवर्द्धन गरी आर्थिक समृद्दि र रोजगारी सृजनामा उल्लेखनीय वृद्धि गर्ने लक्ष्यसहित तातोपानीले गिडिदहमा पर्यटक भित्र्याउन पूर्वाधार विकासलाई विशेष जोड दिएको छ । कर्णालीको मुगुस्थित राराताल, डोल्पामा रहेको सेफोक्सण्डु तालपछि गिडिदह तेस्रो ठूलो ताल (दह) हो । गिडिदहसँंगै त्यस क्षेत्रमा पाटन क्षेत्र, धार्मिकस्थल, जडिबुटी लगायतको थुप्रै सम्भावना छ ।
कर्णाली राजमार्गदेखि अनुमानित २९ किलोमिटर दूरीमा अवस्थित गिडिदह पुग्नुभन्दा पहिले बीचमा धार्मिक एंव पर्यापर्यटकीय महत्व बोकेको पाटन क्षेत्र, चरन तथा वन क्षेत्र, विभिन्न दह र देवीदेवताका मठमन्दिर फुल्चाउले, लामाचौर, माझपाटन बजेडी गुफा, लसुनबारी, विष्टज्यु, ठाकुरज्यु, धार्मिक पर्यटन क्षेत्र, नानाहाँका धप्के पुनालीलगायतका पर्यटन क्षेत्रको अवलोकनसमेत गर्न सकिन्छ । गिडिदहसँंगै धार्मिक तथा पर्यापर्यटनको प्रवर्द्धन तथा आर्थिक विकासका लागि तातोपानीले गिडिदह सम्मेलन गरेको दुई वर्षमा उल्लेखनीय काम गरेको छ ।
गिडिदह प्रवर्द्धनमा सात नमुना काम
पछिल्लो समयमा गिडिदहमा बढ्दो पर्यटकको आकर्षणलाई मध्यनजर गर्दै पालिकाले पदमार्ग निर्माण, धर्मशाला शौचालय निर्माण, प्रचार प्रसारलगायतका काममा जोड दिएको हो । दुई वर्षमा साढे दुई सय पर्यटक गिडिदह पुगेका छन् । यसैबीच शनिबार पत्रकार सम्मेलन गरेर गिडिदह सम्मेलनका दुई वर्षे प्रगति सार्वजनिक गरेको छ । तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले गिडिदह प्रवर्द्धनका लागि दुई वर्षमा गरेका प्रगति प्रस्तुत गरेका थिए ।
तातोपानी–४ का अध्यक्ष अम्मरबहादुर रोकायाले गिडिदह प्रवर्द्धनका लागि दुई वर्षमा पदमार्ग निर्माण, धर्मशाला, खानेपानी शौचालय निर्माण, तालको नापजाँच लगायतका सात वटा नमुना काम गरेको बताए । दुई वर्षको प्रगतिअनुसार पहिलो काम गिडिदह सम्मेलन, २०७९ सम्पन्न गरिएको छ । गुमनाम कर्णालीकै तेस्रो ठूलो तालको प्रवर्द्धनका लागि २०७९ साल असोज ४ देखि ६ गतेसम्म गिडिदहमा ८४ जनाको टोली पुगेर सम्मेलन गरेको थियो । त्यसपछि मात्रै गिडिदह चर्चामा आएको हो ।
दोस्रो गिडिदहको नापजाँच गरिएको थियो । हालसम्म लम्बाइ, चौडाइ, गहिराइ मापन नभएको उक्त तालको पालिकाले वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय ताल संरक्षण विकास समिति काठमाडौंबाट पाँच लाख र तातोपानीको २०७९/०८० बाट नौ लाख गरी जम्मा १४ खाल लगानीमा काठमाडौं विश्वविद्यालयका विज्ञ समूहमार्फत तालको नापजाँच गरिएको थियो । रिपोर्टअनुसार गिडिदहको लम्बाइ १५सय १० मिटर, चैडाइ, ३१० मिटर, गहिराइ ४२.८ मिटर रहेको छ ।
त्यस्तै गिडिदह पुग्न सहजताका लागि सात लाख २५ हजार लागतमा गिडिदह धर्मशालादेखि पाटनसम्म करिब ५३ सय मिटर पदमार्ग निर्माणकार्य सम्पन्न भएको छ । तर भुक्तानी रकम ५ लाख ६० हजारमात्र भएको छ । गिडिदह प्रवर्द्धनअन्तर्गत पर्यटकको आगमन वृद्धि गर्न दुई लाख ५० हजार खर्चेर विभिन्न १८ स्थान (एरेनी, हाँकु, फुलचौल्या पाटन क्षेत्र गिडिखोला, भलखोला, फुलचैल्या, कालिका मन्दिर, लामाचोर, सानी काध, डन्डमा काध, दूधवाडी, नेटा, डिगिदह तल्लो भागमा, निकाशा क्षेत्रमा र गिडिदह धर्मशालामा सूचना पार्टी राखिएको छ ।
जसले नयाँ पर्यटकलाई गिडिदह पुग्न सहज हुने अपेक्षा गरिएको वडाध्यक्ष रोकायाले बताए । गिडिदहमा पुग्ने पर्यटकको बसाइ सहज गर्न पर्यटन मन्त्रालयको १५ लाख लगानीमा ताल छेउमा धर्मशाला निर्माण गरिएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गिडिदह प्रवर्द्धनका लागि फूलचौल्याबाट सिधै गिडिदह पुग्ने पदमार्ग निर्माणलाई सम्पन्न गरिने बताए ।
उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन सकिने बित्तिकै फूलचौल्यासम्म सडक पुर्याउँछौ । पालिकाले राम्रो काम गर्दै जाँदा कहिले कामै नभएका योजनाको अख्तियारमा उजुरी दिने, कहिले मलेपको प्रतिवेदनलाई आधार बनाएर चरित्र हत्या गर्नेजस्ता हमला गर्न खोजिरहेका छन् । यद्यपि तातोपानी सधै जनताको सेवा प्रवाह विकास निर्माण, सुशासन पारदर्शितामा अडिग भएर अघि बढ्छ ।’
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले तातोपानीलाई समृद्ध बनाउन सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने बताइन् । गिडिदहको प्रवर्द्धनका लागि सडक यातायात पदमार्ग निर्माणलाई जोड दिनुपर्ने उनले बताइन् । सडक पुर्याएको खण्ड पाटन क्षेत्रका जडिबुटी नास हुने, प्रदूषण फैलिने भएकाले पदमार्गलाई जोड दिनुपर्ने उल्लेख गरिन् ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले तालको प्रवर्द्धनमा वडाध्यक्षको सक्रियता प्रशंसायोग्य रहेको बताए । होटलबासको व्यवस्थापनसँंगै आन्तरिक बाह्य पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै आउन जान लाग्ने समय, पर्यटन क्षेत्र, बास बस्ने क्षेत्रलगायतका विषयमा पर्चा पम्प्लेटका आधारमा प्रचारप्रसार गर्ने विषयमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।