राजधानीमा ‘म्याड म्यान्स डायरी’

सिनेमाले ओझेलमा पारेको नाटक क्षेत्र बिस्तारै जुर्मुराउन थालेको छ । राजधानीमा एकपछि अर्को गर्दै नाटक घरहरु खुल्न थालेका छन् र तिनले दर्शकहरुलाई नाटकघरतर्फ तानिरहेका छन् ।
काठमाडौंमा हालै नयाँ नाटक घरको प्रारम्भ भएको छ । बानेश्वरको लेखन कुञ्जमा कुञ्ज नाटकघरको उद्घाटन शताब्दी पुरुष सत्यमोहन जोशी, नेकपा एमालेका नेता एवं साहित्यकार प्रदीप ज्ञवाली र कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले संयुक्त रुपमा गरे ।
हाल नाटक कुञ्जमा लु स्युनको कृति म्याड म्यान्स डायरीमा आधारित नेपाली अनुवादको नाटक मञ्चन भइरहेको छ । नाटक हेर्न दर्शकहरुको उत्साहपूर्ण उपस्थिति भएको कुञ्जका अध्यक्ष ढकालले जानकारी दिए । नाटक घरको उद्घाटन कार्यक्रममा जोशी र ज्ञवालीले रमणीय लेखन कुञ्जमा विभिन्न विधासँगै नाटक पनि मञ्चन प्रारम्भ हुनु ऐतिहासिक भएको बताए । साथै यस्तो सृजनात्मक कार्य गरेकोमा अध्यक्ष ढकाल र अन्य सहकर्मीहरुलाई बधाइ ज्ञापन गरे ।
कुञ्ज नाटक घरमा फागुन ८ गते मंगलबारदेखि लु स्युनको म्याड म्यान्स डायरीको मञ्चन भइरहेको छ । बानेश्वर थापा गाउ“ सिडियोटोलस्थित सो नाटक घरमा पहिलो मञ्चन भएको म्याड म्यान्स डायरी नाटक फागुन १६ गतेसम्म सञ्चालन हुने ढकालले जानकारी दिए । घोष्ट राइटिङ नेपाल र कुञ्ज थियटरको संयुक्त सहकार्यमा उन्नाइसौं शताब्दीका विश्व प्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स डायरी’ मञ्चन भएको हो ।
तत्कालीन चीनमा जनतामा सामाजिक, राजनीतिक चेतना विकास गराएको सो नाटक चे शंकरको निर्देशनमा सुदाम सिकेले अभिनय गरेका छन् । नाटक अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरुले बताएका छन् । नाटकले सर्वसाधारण मानिसहरु राज्य, कानून, संस्कृतिबाट कसरी प्रताडित भएका छन्, मानिसहरुको स्वतन्त्रताको अधिकारमाथि कसरी दमन हुने गरेको छ भन्ने सन्देश दिएको छ ।