Logo

भीमेश्वरको शिलामा एकै हप्तामा दोस्रो पटक आयो पसिना

दोलखा– प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा एकै हप्तामा २ पटक पसिना आएको छ । ४ दिनपछि फेरि शिलामा पसिना आएको हो ।

भीमेश्वरको शिलामा पसिना आएको खरब फैलिए लगत्तै भीमेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो । गत बुधबार दिउँसो १२ः४५ बजेदेखि ३ः१३ बजेसम्म शिलामा पसिना आएको थियो । सामान्य अवस्थामाभन्दा शिलाको रङ गाढा कालो भएर पसिना आउने गरेको छ । ४ दिन पछि गत शनिबार दिउँसो पनि साढे २ घण्टा पसिना आएको थियो ।

भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्षा सुरेश श्रेष्ठले शनिबार शिलाको बायाँतर्फ र पछिल्लो पटक शिरमा पसिना आएपनि बुधबार शिलाको सबैतिर पसिना आएको जनकारी दिए । दायाँ पट्टिबाट पसिना आउँदा राज्य सञ्चालक पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले तान्त्रिक विधिबाट क्षमा पूजा अर्चना गरेका छन् ।

शिलामा पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको कपास जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पाला पसिना आउँदा भने राजदरबाट क्षमा पुजाको लागि पञ्चवली पठाउने चलन थियो । शनिबार पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादको रुपमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र गुठियार राष्ट्रपति भेट्न काठमाडौं गएका थिए ।

समितिका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई भेटेर महाप्रसाद बुझाएर फर्केका थिए । भीमेश्वरलाई पसिना आउँदा राष्ट्र प्रमुखबाट क्षमा पूजा गर्ने परम्परा रहेको छ । क्षमा पूजाका लागि परम्परा अनुसार राष्ट्रपति कार्यालयले खर्च समेत पठाएको छ । क्षमा पूजाको साइत आइतबार राखिए पनि त्यसअघि नै पुनः पसिना आएकाले के गर्ने भन्ने छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्