आकर्षण थप्दै बन्दीपुर केबलकार
तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि सर्वसाधारणको आकर्षण बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएपछि केबलकार चढ्न सर्वसाधारणको आकर्षण बढेको हो । बन्दीपुरमा सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले पर्यटकीय नगरी बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सहितको संरचना निर्माण गरिएको जानकारी दिए । शर्माका अनुसार पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । उनका अनुसार सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ ।
शर्माका अनुसार सञ्चालनको एक महिनाको अवधिमा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको बताए । शर्माले भने, ‘केबलकारसँगै जीपलाइन र स्काइ साइक्लङिमा समेत उत्तिकै आकर्षण छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा हुने बताउँछन् । उनले भने, ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो ।’
एक वर्ष अगाडि केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी भार परीक्षण भइरहेको थियो । भार परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोख्रेलले जानकारी दिए ।
केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि खुल्ला भइसकेको छ । यसअघि वर्षको नवरात्रको नौ दिनमात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैं साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकारचोकदेखि मन्दिरसम्म १७ सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ ।
केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा पाँच सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ । केवलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेष्ट्रो क्याबिन रेस्टुराँ एवं आराम कक्षसमेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ । तर केबलकारको यो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ ।
बाँकी दुईवटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने दुई वटा ढुवानीका लागि प्रयोग गरिनेछ । यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधासहितको रेस्टुराँ ‘ड्राइभ इन’ सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुराँ ‘ड्राइभ इन’ सञ्चालनमा आएको हो । त्यस्तै बटम स्टेशनमा जंगली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देविदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आएको छ ।
बन्दीपुरहिलको कुल लागत ६२९ करोडमध्ये हालसम्म ४३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको २९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ ।
साउन महिनाभर शिव महिम्नाहा उत्सव
पूर्वाधारयुक्त केबलकार गुरुयोजना बन्दीपुर हिलले साउ महिनाभर शिव महिम्नाहा उत्सव सुरु गरेको छ । भगवान शिवजीको आराधाना गर्ने महिनाको अवसर पारी बन्दीपुर हिलमा साउन १ गतेदेखि ३२ गतेसम्म शिव महिम्नाहा उत्सव सुरु गरिएको हो ।
साउन महिनाका प्रत्येक दिनपछिको साँझमा बन्दीपुर हिलको बटम स्टेसन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती गरिने र प्रज्वलित आरती केबलकारको माध्यमबाट भजनकिर्तन गर्दै बन्दीपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पु¥याइने शर्माको भनाइ छ । खड्गदेवी मन्दिरमा भगवान् शिवजीले न्यायिकक राज्य प्रशासनको सुरक्षा कवचका रूपमा तत्कालीन पराक्रमी राजा मणिमुकुन्द सेनलाई वरदान स्वरुप दिएको तरवार रहेको बताइन्छ ।
शिव महिम्नाहा उत्सव आयोजक समितिका संयोजक किरण पोख्रेलले साउनको प्रत्येक सोमबार बोलबम पद तथा रोपयात्रासमेत सञ्चालन गरिने जानकारी दिए । यसप्रकारको यात्रा मस्र्याङ्दी नदीबाट जल उठाएर सुरुवात गरिने र पदयात्रामार्फत् केबलकारचोकमा रहेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पूजा आराधना गरी केबलकारमार्फत् तीनधारास्थित तीनधर्के महादेव पुर्याइने उनले बताए ।
बोलवम कार्यक्रमको दिन बिहान ९ बजेदेखि १० बजेसम्म तीर्थयात्रीका लागि केबलकारको टिकट मूल्य दुई सयमात्र कायम गरिएको छ । शिव महिम्नाहा उत्सवका अन्य समय र दिनमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । जसमा केवलकारको टिकट पाँच सय र तीन सय बराबरको मूल्यको सात्विक भोजन खिरपुरी भाजी थाली निःशुल्क उपलब्ध गराइने बताइएको छ ।