Logo

गोरखा संग्रहालय पर्यटक घटे, राजस्व बढ्यो

गोरखा– गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या घटे पनि राजस्व बढेको छ । आर्थिक बर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष संग्रहालय भ्रमण गर्नेको संख्या कम भए पनि राजस्व संकलन भने धेरै रहेको संग्रहालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ४५ सय ४४ जना कम पर्यटकले अवलोकन गरेका संग्रहालयको तथ्यांक छ । तर राजस्व संकलन भने अघिल्लो आर्थिक वर्षको तुलनामा एक लाख आठ हजार रुपैयाँ बढी संकलन भएको कार्यालय प्रमुख जयनारायण कार्कीले बताए । गत वर्ष संग्रहालय घुम्ने विद्यार्थीको संख्या घटे पनि अन्य पर्यटकको संख्या बढेकाले भ्रमण गर्ने पर्यटकको संख्यामा कमी भए पनि राजस्व बढेको उनले बताए ।

‘अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब आठ हजार कम विद्यार्थीले संग्रहालय घुमेका छन्,’ कार्यालय प्रमुख कार्कीले भने, ‘विद्यार्थी घटे पनि स्वदेशी, सार्क राष्ट्र र विदेशी पर्यटकको संख्या बढेको छ । विद्यार्थीको तुलनामा अन्य पर्यटकको प्रवेश शुल्क बढी छ । त्यसैले राजस्व बढी संकलन भयो ।’ संग्रहालय प्रवेशका लागि विद्यार्थीले १० रुपैयाँ, स्वदेशी पर्यटकले २५ रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले ५० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्ष एक लाख १९ हजार १८७ जनाले संग्रहालय घुमेका थिए । यीमध्ये ३५ हजार ३५६ विद्यार्थी, ८२ हजार १४४ नेपाली, सार्क राष्ट्रका १५९ र एक हजार ५२८ विदेशी पर्यटक रहेका छन् । संग्रहालय भ्रमण गर्नेको प्रवेश शुल्क, क्यामेरा शुल्क, फिल्म छायांकन, पसल भाडालगायत अन्य शीर्षकमा २७ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० मा एक लाख २३ हजार ७३१ जनाले संग्रहालय भ्रमण गरेका थिए । जसमध्ये ४३ हजार ५७० विद्यार्थी, ७९ हजार २३१ नेपाली, सार्क राष्ट्रका ७० र ८६० विदेशी पर्यटक थिए । सो वर्ष २६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको गोरखा संग्रहालयले जनाएको छ ।

गोरखा राज्य र नेपाल एकीकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडवर्तन, विभिन्न जातिका पहिचान झल्कने सामग्री, बाजालगायतका सामग्री संग्रहालयमा राखिएको छ । तत्कालीन राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरबारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो ।

परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरबार भएकाले सोसम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य वन्दू बन्ने गरेको संग्रहालय प्रमुख कार्कीले जानकारी दिए । यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी लिन चाहनेले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् । संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरबार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्