Logo

६४ प्रतिशत मात्रै राजस्व संकलन

बुटवल– भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ६४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । आर्थिक अवस्थामा सुधार आउन नसकेको कारण आयात व्यापारमा आएको संकुचनले राजस्वले लक्ष्य भेट्न नसकेको हो ।

उक्त भन्सारले गत आर्थिक वर्षमा १ खर्ब २७ अर्ब ८३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, ८० अर्ब ४५ करोड ९४ लाख रुपैयाँ मात्र राजस्व उठेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए । राजस्व संकलन दर अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष केही बढेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि राजस्व उठेको थिएन । त्यस बेला १ खर्ब ५५ अर्ब ६० करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड ५ लाख मात्र राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ३ अर्ब जति राजस्व संकलन भएको छ । आव २०७९–८० आर्थिक संकट, विलासी वस्तुको आयातमा प्रतिबन्धलगायतका कारण राजस्व संकलन न्यून भएको थियो ।

आव २०८०–८१ मा सबैभन्दा बढी मोटरसाइकल आयातबाट राजस्व संकलन भएको छ । भैरहवा भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ९४ हजार २१३ वटा मोटर साइकल भित्रिएको थियो । जसबाट १० अर्ब ८० करोड ३३ लाख राजस्व संकलन भएको हो ।

आर्थिक अवस्था केही सुधार भएको देखिए पनि गत आर्थिक वर्षमा राजस्व संकलनको प्रगति कमजोर रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा लक्ष्य नै कम तोकिएको थियो । सोही कारण राजस्वको प्रतिशत बढेको देखिएको हो । आर्थिक वर्ष २०७७–७८ मा भैरहवा भन्सार कार्यालयमा पहिलो पटक एक खर्बभन्दा बढी राजस्व संकलन भएको थियो । त्यस वर्ष लक्ष्यको ११३ प्रतिशत अर्थात् १ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।

२०७८–७९ मा हालसम्मकै बढी १ खर्ब १५ अर्ब राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ । त्यसपछि आर्थिक संकटका कारण राजस्व संकलन कमजोर हुन थालेको हो । आव २०८०–८१ मा सबैभन्दा बढी मोटरसाइकल आयातबाट राजस्व संकलन भएको छ । भैरहवा भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ९४ हजार २१३ वटा मोटर साइकल भित्रिएको थियो । जसबाट १० अर्ब ८० करोड ३३ लाख राजस्व संकलन भएको हो ।

सोही आर्थिक वर्षमा २ हजार ९१९ वटा जिप, कार र भ्यान आयात भएको थियो । त्यसबाट ७ अर्ब १० करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाएको छ । ६४ हजार ५४४ किलो लिटर पेट्रोल भित्रिदा ३ अर्ब ६९ करोड ३० लाख रुपैयाँ राजस्व उठेको छ । ग्लेज टाइलबाट २ अर्ब १० करोड ७२ लाख रुपैयाँ, इलेक्ट्रिक कार जिप र भ्यानबाट १ अर्ब ९२ करोड, सामान ढुवानी गर्ने गाडीबाट १ अर्ब ७७ करोड राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै एलपीजी ग्यासबाट १ अर्ब ७४ करोड ४३ लाख राजस्व जम्मा भएको छ । स्मार्ट फोनबाट १ अर्ब ६९ करोड ४३ लाख, एम एस विलेटबाट १ अर्ब ६६ करोड ३३ लाख र हाइ स्पिड डिजेलबाट १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । भैरहवा भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०–८१ मा २ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँबराबरको सामान आयात भएको थियो । तर आयातको निकै कम मात्र निर्यात भएको छ ।

गत आर्थिक वर्षमा १३ अर्ब ८३ करोड ४२ लाख रुपैयाँको सामान निर्यात भएको छ । सबैभन्दा बढी ३ अर्ब ३६ करोड ३८ लाख मूल्यबराबरको सिन्थेटिक यार्न निर्यात भएको छ । १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँको सिमेन्ट निकासा भएको छ । सिमेन्ट क्लिङकर १ अर्ब २० करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्