पर्वतमा ३० किमि सडक कालोपत्रे
पर्वत– पर्वत जिल्लाभर झण्डै दुई हजार पाँच सय किलोमिटरभन्दा बढी सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ । अधिकांश सडक हिउँदयाममा सञ्चालन हुने र वर्षायाममा ठप्प हुने गर्दछन् ।
जिल्लाका ग्रामीण सडकमध्ये गत आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे भएको छ । यो जिल्लामा रहेका दुई ठूला लोकमार्ग कालिगण्डकी र मध्यपहाडी बाहेकको हो । आर्थिक वर्ष २०७९/८० मा १९ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको पर्वतमा आर्थिक वर्ष २०८०/८१ मा झण्डै ३० किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । योसँगै जिल्लामा हालसम्म कुल १६२ किलोमिटर ग्रामीण सडक कालोपत्रे भइसकेको हो ।
जिल्लाका विभिन्न सातवटा पालिकाका झण्डै २२ वटा मूल सडकमा १६२ किलोमिटर पक्कि सडक निर्माण भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमख गुरुदत्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं. २ को हिमालय माविसम्मको ६ किमि लामो सडक कालोपत्रेको काम सकिएको छ भने मोदी गाउँपालिकाको शेराबेशी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्रे गरिएको छ ।
ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्रे, मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष चार किलोमिटर कालोपत्रे गरिएको छ । त्यस्तै फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि साढे चार किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै गँगटे–आर्थर सडक खण्डमा पनि कालोपत्रेका लागि काम सुरु भएको छ । यसैगरी साइकलचोक–शंकरपोखरी सडक पनि कालोपत्रे भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयमार्फत् झण्डै २० किलोमिटर सडक कालोपत्रे भएको छ भने संघीय सरकारअन्तर्गतको सहरी विकास कार्यालयमार्फत् जिल्लाका विभिन्न ग्रामीण सडकमा झण्डै १० किलोमिटर सडक ढलानसहित कालोपत्रे भएको छ । यो कार्यालयमार्फत् सबैभन्दा बढी जलजला गाउँपालिकाको मज्जालमा साढे तीन किमि कालोपत्रे भएको छ ।
कार्यालयका इन्जिनियर विकास पौडेलका अनुसार बजेट अभावका कारण अझै केही आयोजनाको काम बाँकी रहेको र चालु आर्थिक वर्षमा ती काम पनि पूरा हुने भएका छन् । कार्यालयले सडकसँगै भवन निर्माणको कामसमेत गर्दै आइरहेको छ ।