Logo

जुम्लाबाट संघ र प्रदेशको डेढ अर्ब बजेट फिर्ता

जुम्ला– संघीय र प्रदेश सरकारको गरी डेढ अर्बभन्दा बढी बजेट जुम्लाबाट फिर्ता भएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा जुम्लाका आठ पालिका र झन्डै पाँच दर्जन विषयगत कार्यालयबाट यो बजेट फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाको विवरणअनुसार संघीय सरकारबाट प्राप्त बजेटमध्ये असार मसान्तसम्ममा ८८.६७ प्रतिशत खर्च भएको छ । संघबाट गत आवमा जुम्लाका लागि चालु र पुँजीगत गरी ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो । कुल बजेटमध्ये ६ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ भने संघतर्फको झन्डै ८२ करोड खर्च हुन नसकेर फिर्ता भएको छ । विकासका निम्ति आएको करोडौं बजेट बर्सेनि खर्च हुन नसकेर फिर्ता हुने तर यो क्षेत्र सधैं पछाडि पर्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत असारमा मात्रै ४१ प्रतिशतसहित जुम्लामा समग्र पुँजीगत खर्च ७८ प्रतिशत भएको छ भने चालु खर्च ९२.७८ प्रतिशत भएको छ । संघीय सरकारतर्फको कुल पुँजीगत बजेट २ अर्ब २ करोडमध्ये १ अर्ब ५८ करोड खर्च हुँदा असारमा मात्रे ६५ करोड ५३ लाख खर्च भएको देखिन्छ । वर्षभरि सुस्त भएको बजेट खर्च आर्थिक वर्षको अन्तिम महिनामा ह्वात्तै बढ्ने रोग केन्द्रदेखि पालिकासम्मै देखिन्छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख हंशराज खनालले जुम्लामा कठिन भूगोल, मौसम प्रतिकूलता, ढिला अख्तियारी आउने लगायतका कारणले अपेक्षाकृत रुपमा बजेट खर्च नभएको बताए । यद्यपि गत वर्षको तुलनामा बजेट खर्च बढेको उनले जानकारी दिए ।

गत आवमा प्रदेश सरकारबाट जुम्लामा विनियोजित २ अर्ब १० करोड बजेटमध्ये १ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ भने ५६ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । स्थानीय तह र विषयगत कार्यालयमा चालुतर्फ विनियोजित ८२ करोड ६६ लाखमध्ये ६५ करोड ३७ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जानकारी दिएको छ । त्यस्तै पुँजीगततर्फ विनियोजित १ अर्ब २८ करोडमध्ये असार मसान्तसम्म ८९ करोड २१ लाख खर्च भएको छ ।

भौगोलिक रुपमा विकट कर्णालीका जिल्लामा विनियोजित पूर्वाधार विकासका कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न तीनै तहको समन्वय र भूगोलअनुसारको नीति निर्माणमा जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले बताए । समन्वय र सहकार्यको अभावका कारण संघ र प्रदेशबाट विनियोजित बजेट फिर्ता हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्