प्राधिकरणद्वारा ‘परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालन «

प्राधिकरणद्वारा ‘परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालन

पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।
भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्थालगायतलाई एकद्वार प्रणालीमार्फत जानकारी दिन र भूकम्प प्रभावित जिल्लामा भइरहेको कामको केन्द्रीयस्तरबाटै अनुगमन गर्ने उद्देश्यले यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले परियोजना अनुगमन सूचना प्रणालीको औपचारिक रूपमा शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले नयाँ प्रणालीको विकासले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित कार्यलाई अझै बढी पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने बताए ।
विश्वका विकसित मुलुकहरूले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणालीमार्फत नेपालमा भइरहेको पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने भन्दै सीईओ भुसालले देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो सूचना प्रणाली उपयोगीसिद्ध हुने बताए ।
नेपाल सरकार र दाताहरूले दिएको रकम पुनर्निर्माणको काममा सदुपयोग भए नभएको बारे यो प्रणालीमार्फत सर्वसाधारण जनताले समेत थाहा पाउन र सूचना संकलन गर्न सक्ने र हाल अंग्रेजी भाषामा सुरू गरिएको सो सूचना प्रणाली नेपाली भाषामा पनि सञ्चालन गर्ने योजना रहेको भुसालले जानकारी दिए ।
प्राधिकरणका सचिव मधुसूदन अधिकारीले परियोजना अनुगमन सूचना प्रणाली सञ्चालनमा आएसँगै प्राधिकरणलाई भूकम्प प्रभावित जिल्लामा भइरहेको कामको अनुगमन गर्न अझै सहज हुने बताए । एशियाली विकास बंैक (एडीबी) का नेपाल निर्देशक मुख्तोर खामुदखानोभले गुणस्तरीय अनुगमन, प्रगति निगरानीमार्फत प्रभावकारी परियोजना व्यवस्थापन गर्ने तथा अनुपालन अनुगमन सुनिश्चितताको उद्देश्यसहित यो प्रणालीको सुरुवात गरिएको बताए ।
एडीबीको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस सूचना प्रणालीमा भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकहरूले पुनर्निर्माण भइरहेका परियोजनाका कामको प्रगति विवरण अपलोड गर्नेछन् । उक्त प्रणालीबारे संक्षिप्त प्रस्तुति दिँदै प्राधिकरणका सहायक प्रवक्ता डा. भीष्मकुमार भुसालले पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित गतिविधिका साथै बजेटको अवस्था र आवश्यक सूचना प्रयोगकर्ताले प्राधिकरणको वेभ पोर्टलमार्फत् सजिलै पाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्