मन भुलाउने बहाना भजन «

मन भुलाउने बहाना भजन

कृष्ण मन्दिरको भजन मण्डलीमा सामेल हुने केशवगोविन्द जोशी बिहान उठ्नासाथ स्नान गरी स्वच्छ मनले भगवानप्रति आस्था गरी पूजापाठ गरेर आफ्नो दैनिकी सुरु गर्छन् । उनी बेलुका पनि किर्तनमा रमाउँछन् । उनी आफ्नो जीवनशैलीमा सन्तुष्ट छन् । बिस्तारै उमेर ढल्किँदै जाँदा आफूहरू भजन किर्तन गरेर भुल्ने बहाना पाएको उनी बताउँछन् । धार्मिक आस्था त छँदैछ, बुढेसकालमा एकै जमातका व्यक्तिहरूसँग रहेर भजन किर्तन गर्दा समय पनि सहज रूपमा बितेको अनुभव उनले सुनाए । यसका साथै ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा रहेका वृद्धहरूको जीवनशैलीमा धेरै नै भिन्न रहेको छ । सहरमा सबैजना आफ्नो काममा व्यस्त भएका कारण एक्लोपनाको महसुस गर्छन् भने ग्रामीण क्षेत्रमा यस्तो आभास कम भएको अनुमान गर्न सकिन्छ ।

भद्रकाली मन्दिरको भजन
काठमाडौंस्थित भद्रकाली मन्दिरमा बिहान ६ बजेदेखि भजन हुन्छ । भगवानमा आस्था राखेर पूजारीलगायत भजनमा समूहहरूले मन्दिरमा यो कार्य गर्दछन् । भजन नेवारी भाषामा ८ बजेसम्म गर्ने गर्दछन् ।
अहिलेको जाडो मौसममा पनि बिहान नुहाएर भगवानप्रति विश्वास गरेर पूजारीलगायत अरु मानिसहरू भगवानको पूजा आराधना गर्न, भजन गाएर भगवानलाई खुशी पार्ने उद्देश्यले मन्दिर आउने गर्दछन् । बिहान ४ बजे उठेर स्नान गरेपश्चात ६ बजेदेखि भगवानको पूजा आराधना गरेर भजन शुरु गर्ने गर्दछन् । भजन बिहानमात्र गर्ने र कृष्ण अष्टमीको दिनमा बेलुमा पनि गर्ने भद्रकाली मन्दिरका पूजारी उमानन्द भट्टराईले बताए । किर्तन गर्ने समूहको स्थापना २००४ सालमा भएको हो । बिहान भजनमा कम्तिमा पनि १०-१२ जना हुने गर्दछन् ।
दोलखा घर भएका मोहनप्रसाद उपाध्यक्ष भण्डारी र उनका छोरा पनि बिहान किर्तनको समयमा मन्दिर आएर दिउँसो मन्दिरमै बसेर बिवाह, ब्रतबन्ध जस्ता कार्यहरू गर्ने गर्दछन् । ६-७ वर्ष अगाडि दिउँसो मन्दिरमा बसेर कार्य गर्दा मन्दिरको समितिलाई मासिक ५ सय दिनुपथ्र्यो तर अहिले हटेको पूजारी मोहन प्रसादले बताए । परिवारमा ७ जनाको सदस्य रहेका मोहनप्रसादले बिवाह, ब्रतबन्ध गर्दा आएको पैसाले सामान्य घरपरिवार चलिरहेको बताए । मासिक ७-८ हजारको आम्दानी गर्ने मोहनप्रसादले यो कार्य १० वर्षदेखि गर्दै आएका हुन् ।

कृष्ण मन्दिरमा हुने भजन
नेवारी समुदायका व्यक्तिहरूको सहकार्यमा बिहान सधैं यहाँ भजन र किर्तन हुने गर्दछ । बिहान पाँच बजेदेखि ६ बजेसम्म भजन हुने गर्दछ र त्यसपश्चात् बेलुका किर्तन पनि एक घण्टा नै गर्ने गरिन्छ । यहाँ पूजारीले दैनिक रूपमा स्नान गरी बिहान मन्दिरमा पूजाको लागी प्रवेश गर्न र पूजापाठ गर्न र भजनमा सामेल हुने पनि बताए । यसका साथै भजन किर्तनमा पाटनमा अवस्थित नेवारी समुदाय यहाँ दैनिक रूपमा उपस्थित हुने बताए । यसका साथै मन्दिरमा आउने भक्तजनहरू पनि यहाँ उपस्थित हुने बताएका छन् । यसैगरी भजनमण्डलीमा सामेल हुने केशव गोविन्द जोशीले प्रत्येक दिन बेलुका यहाँ किर्तनमा सहभागी हुने बताए । यहाँ आएर भजनमा सहभागी हुँदा एउटै उमेर समूहका व्यक्तिहरूबीच भेटघाट हुनुका साथै आफूहरू पनि खुशी रहेको बताउँछन् ।

सेतो मछिन्द्रनाथ मन्दिरमा हुने भजन
बिहान पाँच बजेदेखि नै नेवारी समुदायका व्यक्तिहरू यहाँ भजन गर्न आइपुग्छन् । यहाँ मन्दिरमा बस्ने व्यक्तिलाई गुभाजु भन्ने गरिन्छ । बिहान उठेर स्नान गरी प्रत्येक दिनजस्तै आफ्नो कर्मकाण्डमा लाग्ने गर्दछन् । यहाँ बिहान आउने भक्तजनहरू इच्छाअनुसार स्नान गरी मन्दिरमा भजनको लागि आउने गर्दछन् ।

बंगलामुखी मन्दिर
बिहीबार विशेष रूपमा भीड लाग्ने यस मन्दिरमा पनि बिहान धार्मिक आस्था भएका व्यक्तिहरू प्रत्येक दिन यहाँ सहभागी हुने उक्त मन्दिर परिक्रमा गर्ने गरेका छन् । विशेषगरी वृद्धहरू नै धर्मप्रति विशेष आस्था राख्ने गरेको उनीहरु बताउँछन् । युवा वर्गहरूको व्यस्त जीवनशैली र यसप्रतिको धारणा विस्तारै घट्दै गइरहेको पण्डित दीपक न्यौपानेले बताए ।
धार्मिक आस्थाप्रति वृद्धहरूको उपस्थिति उल्लेखनीय मात्रामा बढ्दै गइरहेको छ । उमेर बढ्दै गएपश्चात् परिवारबाट पूरा समय दिन नसक्दा मन केही खिन्न भएको अनुभव त पक्कै पनि भइहाल्छ । यसै समयलाई फुर्सदमा बदल्न भजन किर्तनमा वृद्धहरू सामेल हुने गरेका छन् । एकै उमेर समूहका साथीहरूबीच कुराकानी पनि हुने र एक्लोपनाको महसुस पनि कम हुने भएकाले यसमा समय बढी बिताउने गर्दछन् ।
(रिना खत्री-प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्