Logo

अनुदान नीतिले दूध उत्पादनमा वृद्धि

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई २८ लाख ८८ हजार वितरण गरेको पशुसेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए ।

उनका अनुसार प्रतिलिटर १० रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन् । चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार ८२० लिटर दूध बिक्री भएको छ । म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार ९४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार १६४ लिटर दूध उत्पादन भएको छ ।

त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई २३ लाख ७९ हजार ४७७, गौ सेवा दुग्ध सहकारीलाई तीन लाख ४७ हजार ११ र साँगेका चार हजार दुग्ध सहकारीलाई एक लाख ६१ हजार ६४० अनुदान उपलब्ध गराइएको शाहले बताए । गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो ।

गत आर्थिक वर्षमा गाउँपालिकाले किसानलाई १४ लाख ९८ हजार अनुदान वितरण गरेको थियो । त्यसबेला एक लाख ६२ हजार ८८९ लिटर दूध उत्पादन भएको थियो । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानलाई ११ लाख २१ हजार, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई दुई लाख १२ हजार र साँगे चार हजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई एक लाख ६५ हजार रकम वितरण गरिएको थियो ।

दूध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि किसान उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि किसान खुसी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले गाउँपालिकाको यो कामले किसानको हौसला बढाएको बताउँदै जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा भएको बताए ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने नीति लिइएको उल्लेख गरे । उनले भने, ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक किसान पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्