Logo

झण्डै १ कराेड लागतमा कालिगण्डकीमा पुल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र पाउद्वारको तातोपानी कुण्ड जोड्ने कालिगण्डकी नदीमाथि झोलुंगे पुल निर्माणले यात्रामा सहज भएको छ । पाउद्वार तातोपानी जोड्ने झोलुंगे पुल निर्माण भएपछि साँघु तरेर कालिगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको हो ।

तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालिगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्ज्वल जेभीबीच ९३ लाख ५० हजार रुपैयाँ बजेटमा सम्पन्न गर्ने सम्झौता भएको थियो । प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।

यस पुलले स्थानीयबासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ । पुल निर्माण भएपछि जोखिम मोलेर कालिगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताए ।

‘कालिगण्डकी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालिगण्डकी नदीमा साँघु राख्ने गरिएको थियो,’ उनले भने, ‘बर्खायाममा पाउद्वार तातोपानी कुण्ड आउन नारच्याङ हुँदै ४० मिनेट घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको छ ।’

कुल एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुललाई अघि बढाउन बजेट व्यवस्थापनमा अर्थ मन्त्रालयसँग पहल गरेका थिए । प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको उल्लेख गरे ।

जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सांसद भण्डारीले बताए । पाउद्वार तातोपानी कुण्डमा प्राकृतिक उपचार गर्न आउने पर्यटकलाई सहज भएको बताउँदै निर्माणमा सहयोग गर्ने सबैलाई अन्नपूर्ण गाउँपालिकाका भारतकुमार पुनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्