Logo

यातायात सेवा प्रवाहबाट चार करोड राजस्व

लमजुङ– लमजुङमा पूर्वाधार विकास कार्यालयअन्तर्गत यातायात सेवा प्रवाहबाट एक आर्थिक वर्षको अवधिमा साढे चार करोड बढी राजस्व संकलन भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत रहेको यातायात सेवा प्रवाहबाट चार करोड ५८ लाख २८ हजार राजस्व संकलन भएको हो । कार्यालयका अनुसार एक आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार मसान्तसम्मको अवधिमा सो रकम राजस्व संकलन भएको हो ।

विशेषगरी सवारी कर, आयकर, नवीकरण र रुट प्रमिटलगायतको सेवावापत राजस्व संकलन भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले बताए । कार्यालय प्रमुख सिग्देलका अनुसार गत आर्थिक वर्षमा चारपांग्रे सवार साधनबाट मात्रै दुई करोड १९ लाख ६५ हजार राजस्व संकलन भएको छ भने दुईपांग्रे सवारी साधनको सवारी कर एवं नवीकरणबाट दुई करोड ३८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी गत चैत महिनामा राजस्व संकलन भएको छ । चैत महिनामा मात्रै दुईपांग्रे तथा चारपांग्रे सवारीको सवारी कर, आयकर, नवीकरण, रुट परमिटलगायतको सेवाबाट ८९ लाख, ४३ हजार रुपैया राजस्व संकलन भएको छ । त्यसैगरी कार्यालयमा गत आर्थिक वर्षको सबैभन्दा कम भदौ महिनामा २१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । सोबाहेक साउनमा २५ लाख ९६ हजार राजस्व संकलन भएको थियो भने असोज महिनामा ३४ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी कातिक महिनामा २७ लाख ४९ हजार रुपैयाँ, मसिर महिनामा ४७ लाख ५८ हजार, पुस महिनामा ४० लाख ५३ हजार रुपैयाँ, माघ महिनामा ४५ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै फागुन महिनामा ४५ लाख ९० हजार रुपैयाँ, वैशाख महिनामा २४ लाख रुपैयाँ, जेठ महिनामा २६ लाख ८२ हजार रुपैयाँ र असार महिनामा २९ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत् यातायातसम्बन्धी सेवा प्रवाह सुरु भएसँगै विलबुक नवीकरण, यातायात रुट परमिट, नवीकरण तथा पटके संकलन सेवाका लागि तनहुँ वा पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । यातायातसम्बन्धी सेवा प्रवाहसँगै पूर्वाधार विकास कार्यालय लमजुङले ट्राफिक सचेतनाका काम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्