Logo

सुदूरपश्चिममा साढे १० हजार शिक्षक अपुग

धनगढी– सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका विद्यालयमा साढे १० हजार शिक्षक अपुग रहेको एक अध्ययनले जनाएको छ । विद्यालय शिक्षक दरबन्दी मिलानका लागि अध्ययन समितिले गरेको अध्ययन प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा १० हजार ४१५ जना शिक्षा अपुग रहेको उल्लेख छ । प्राथमिक तहमा दुई हजार ४१७, निमावि तहमा चार हजार २८२ र मावि तहमा तीन हजार ७१६ जना शिक्षा अपुग छन् ।

अध्ययनले अछामको ढकारी गाउँपालिकामा १२८, तुर्माखाँद गाउँपालिकामा १३२, पञ्चदेवल विनायक नगरपालिकामा १२८, बैतडीको पुर्चौंडी नगरपालिकामा १३०, बझाङ बुंगलनगरपालिकामा १२३ जना शिक्ष अपुग रहेको जनाएको छ । विभिन्न विद्यालयमा अपुग दरबन्दी सिर्जना गर्नुपर्ने र शिक्षक दरबन्दी रहेपनि शिक्षक नभएको ठाउँमा दबन्दी अनुसार शिक्षक भर्ना गरी खटाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले नयाँ दरबन्दी सिर्जना गरेर शिक्षक भर्ना गर्न सरकारसंग माग गरेका छन् ।

प्रदेश शिक्षा विकास निर्देशनालयले आइतबार धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को समिक्षा गर्न आयोजना गरेको अन्तरक्रियामा सहभागी शिक्षाविद् र शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरुले विद्यालय, विद्यार्थीको अनुपातमा न्युनतम संख्यामा समेत विषयगत शिक्षक नहुनुको कारणले पनि सुदूरपश्चिममा एसईईको नतिजा कमजोर भएको बताए । उनीहरुले यसका साथै भएका शिक्षकले मिहिनेत नगर्नुका साथै भौगोलिक अवस्था, विद्यार्थीले लगनशीलता कम हुनुलगायतका कारणले एसईईको नतिजा कमजोर भएको बताए ।

सुदूरपश्चिम प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री लक्ष्मी विकले शिक्षाको गुणस्तर सुधारका लागि तीनै तहका सरकारले नीतिबाटै सुधार गर्नुपर्ने बताइन् । उनले सरकारले शिक्षामा ठूलो लगानी गरेको भएपनि एसइईको नतिजा कमजोर भएको बताइन् । ‘नीतिगत कुरामा हामी कहाँ चुक्यौँ,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघ सरकारले एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै जिम्मेवार बन्न आवश्यक छ । सबै तहमा शिक्षा सम्बन्धी नीतिमा सुधार गर्न आवश्यक छ ।’ उनले शिक्षाको नीति पनि समयानुकुल बनाउन नसकिएको बताउँदै पुरानै शिक्षा नीतिमा चलिरहेको कारण नतिजा खस्किएको बताइन् ।

‘नीतिगत सुधारका लागि साझा अवधारणा बनाएर अगाडि बढ्दा उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘यहाँका ८८ वटै स्थानीय तहमा बहस गर्न जरुरी छ ।’ सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालले शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजना बनाएर जानुपर्ने बताए । ‘सुधार गर्न सकिने ठाउँमा सुधार गरौं,’ उनले भने, ‘धेरै सैद्धान्तिक कुरामा नजाउँ । यस उसले गर्दा नतिजा राम्रो आएन भन्नुभन्दा पनि अब कसरी जान सकिन्छ भन्नेमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

सुदूरपश्चिबाट एसईई २०८० दिएका ५३ हजार ४४६ जनामध्ये १७ हजार ३६ जना (३१.४७ प्रतिशत) मात्रै ग्रेडिङमा परेका छन् । सुदूरपश्चिमबाट ३६ हजार ४१० (६८.१२ प्रतिशत) विद्यार्थी नतिजा नन् ग्रेडेड (एनजी) आएको छ । एसईईमा सबै भन्दा कमजोर नतिजा आएको सुदूरपश्चिम प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । ९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ८५ विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

बझाङमा सबै भन्दा कम एक विद्यालयको नजित शुन्य छ भने सबै भन्दा धेरै डोटी र बैतडीमा १८/१८ विद्यालयको नतिजा शून्य छ । कैलालीका १५, कञ्चनपुर र डडेलधुराका ८/८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य रहेको निर्देशनालयका शिक्षा विकास अधिकृत कृष्णबहादुर महराले बताए ।

प्रतिक्रिया दिनुहोस्