लगानी जोखिमले सहकारीमा अधिक तरलता
बारा– लगानी जोखिमले सहकारीमा अधिक तरलता देखिएको छ । विगतको तुलनामा जिल्लामा क्रियाशील दर्जनौं सहकारीमध्ये बचत तथा ऋण सहकारीहरूमा ४० प्रतिशतसम्म बचत रकम बढेको छ । लगानी जोखिम बढेपछि कर्जामा देखिएको असरले जिल्लाका बचत तथा ऋण सहकारीहरूमा करोडौ रकम थुप्रिएको हो ।
जिल्लामा सक्रिय ८५ बटा बचत तथा ऋण सहकारीले करिब ८ अर्ब रुपैयाँको कारोबार गरिरहेको आकलन बारा जिल्ला वचत तथा ऋण सहकारी संघले गरेको छ । डिभिजन सहकारीले स्थानीय तहलाई सहकारी संस्थाहरू हस्तान्तरण गर्दा जिल्लमा १ सय ६५ वटा बचत तथा ऋण सहकारी रहेका थिए । करिब १ अर्बको हाराहारीमा कारोबार गर्दै आएको हातेमालो वचत तथा ऋण सहकारीका प्रबन्धक महेश ढुगेलले विगतको तुलनामा गत आर्थिक वर्षमा वचत उच्च रहेको बताए ।
उनले सहकारीको सिदान्त अनुसार अधिकतम मापदण्ड पुर्याएर मात्रै कर्जा प्रवाह गर्ने गरेको कारण असल ऋणीहरू कर्जा लिन आउन छोडेको धारणा राखे । हातेमालो, संगालो सिमरा, सरगरमाथा, लोकप्रिय, अवतार, सेवा सुभारम्भ निजगढ, महिला बचत सिमरा, घण्टीमाई औराहलगायतका सहकारीले कर्जा र वचतको सन्तुलन कायम गरिरहेका छन् । त्यसबाहेक साना किसान डुमरबाना, बहुउदेश्यीय कृषि, दुग्ध, यातायातलगायतका नेपालमै प्रतिष्ठित सहकारीहरू जिल्ला क्रियाशील रहेका छन् ।
‘विगतमा दश, पन्ध्र प्रतिशत बचत हुने ऋण तथा सहकारीमा यो क्रम गत आर्थिक वर्षमा ४० प्रतिशतसम्म पुगेको छ’ सगरमाथा बचत तथा ऋण सहकारी निजगढका अध्यक्ष भोलाप्रसाद गौतमले बताए । उनले भने, ‘यसको मुख्य कारण सहकारीको ऋण नतिर्दा केही हुँदैन भन्ने भाष्य निर्माण गरी केही व्यक्ति र समुह क्रियाशील बन्दा कर्जा प्रवाहको सन्तुलन बिग्रन गइ सहकारीमा तरलता बढेको होे ।’
सहकारी ऐन २०७४ मा व्यवस्था भएको एक व्यक्ति एक सहकारीमा स्थानीय सरकारले चासो राखेमा मात्रै समस्या हल हुने बताइएको छ । गौतमले पछिल्लो समय सहकारीमा नयाँ बचत कर्ताभन्दा पनि पुरानै बचत कर्ताको रकम कर्जा प्रवाह नहुँदा अधिक तरलता देखिएको हो । सर्वसाधारणको रकम बचतमा संकलन गर्नेमा बचत तथा ऋण सहकारी रहेका छन् । उक्त सहकारीले सेयर पुँजीको १० गुणाभन्दा बढी रकम बचतमा राख्न नपाउने कानुनी व्यवस्था छ ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष सतेन्द्र ठाकुरले जिल्लाकै प्रमुख सहरहरूको केही सहकारीमा सम्पत्ति शुद्धिकरणबाट बच्न घरजग्गा, गाडी खरिद बिक्रीमा लगानी गरेको कारण केही सहकारुीमा असर देखिएको बताए । सहकारीले मुलुकभर ५० हजार बढी प्रत्यक्ष रोजगारी, मुलुकको कुल वित्तीय कारोबारमा १५ प्रतिशत तथा कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान दिएको सहकारी विभागले जनाएको छ ।