Logo

उन्नत धानको बिउ उत्पादन

पर्वत– पोखरेली जेठो बुढो धानको पर्वतमा बिउ उत्पादन गर्न थालिएको छ । धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१ पाङ, वडा– २ खुर्कोट, वडा– ११ पकुवा, फलेवास नगरपालिका–६ देविस्थान र विहादी गाउँपालिका–२ बर्राचौरमा पोखरेली जेठो बुढो धानको उन्नत बिउ उत्पादन गर्न थालिएको हो ।

पछिल्लो समय नेपाली भान्छाहरुमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टहरुमा पनि जेठो बुढो धानको चामलको माग अत्यधिक मात्रामा बढ्दै गएपछि पर्वतमा यसको व्यावसायिक खेती सुरु गरिएको छ । यस वर्ष पर्वतको तीन सय रोपनी क्षेत्रफलमा श्रोत बिउ उत्पादन गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ, इकाई पर्वतले जनाएको छ । अहिले रोपिएको धान कात्तिक अन्तिम साता भित्र्याइन्छ ।

अहिले कार्यक्रम लागु भएका पाँच वटै स्थानमा धमाधम पोखरेली जेठोबुढो धानको रोपाइँ भइरहेको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । उक्त क्षेत्रफलवाट ४० टन धानको श्रोत बिउ उत्पादन हुने अनुमान गरिएको पौडेलले बताए । कुश्मा नगरपालिका–११ पकुवामा मात्रै १ सय ५ रोपनी क्षेत्रफलमा जेठो बुढो धान रोपिएको छ । स्थानीय साना किसान कृषि सहकारी संस्थामार्फत धानखेती गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि धान उत्पादनमा प्रविधि, यान्त्रिक उपकरण र उन्नत बिउका साथै सिँचाइलगायत अन्य प्राविधिक विषयमा कृषकहरुलाई सहयोग पुगेको कुश्मा नगरपालिका–११ मा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अगुवा कृषक डम्बर विकले बताए । उनले एक सय ५ रोपनी क्षेत्रफलमा पोखरेली जेठो बुढोको उन्नत बिउ उत्पादन गर्दै आएको बताए । उनले यहाँ उत्पादित बिउ पोखरासँगै बागलुङ र पर्वतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको बताए ।

उनले धान उत्पादनभन्दा बिउबाट दोब्बर आम्दानी गर्न सकिने भएकाले कृषकहरु बिउ उत्पादनमा आकर्षित भएकोमा जोड दिए । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा जेठो बुढोको धानखेती हुँदै आए पनि यस वर्ष बिउ समेत उत्पादन गर्न थालिएको पौडेलले बताए । कार्यालयले खेतमा धानको बिउ उमार्नेदेखि रोप्ने, गोडमेल गर्ने, उत्पादन, बिउ छनोट, तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले बताए । त्यसैगरी मिनिटेलर हलो, मुल बिउ, साना सिँचाइ योजनालगायतका सहयोग कार्यालयले गरेको छ ।

परियोजनाको धान जोन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा एक करोड बढी सहयोग गरिएको परियोजनाले जनाएको छ । कृषकले बिउ बिक्री गरेर राम्रो आम्दानी गर्न सक्ने भएका छन् । प्रतिकिलोग्राम एक सय ८० रुपैयाँका दरले बिउ बिक्री हुने गरेको कार्यालयले जनाएको छ । बिउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलोग्राम मूल बिउ वितरण गरेको थियो ।

पोखरेली जेठो बुढो धानको उन्नत बिउ उत्पादनका लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ । सिँचाइ सुविधा पुगेका समथर र समुद्री सतहदेखि एक हजार मिटरसम्मको उचाइमा उत्पादन गर्न सकिने यो धान खेती विस्तारको क्रम रहेको छ । पर्वतका करिब ९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार टनभन्दा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

पर्वतमा असार अन्तिमसम्म झण्डै ६५ प्रतिशत खेतमा रोपाइँ सकिएको केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिए । जेठो बुढो बाहेक पर्वतमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यु.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, खुमल–१६, बासमती, पहेंले, गौरिया, झिनुवा, बिरमफूल, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातको धान लगाउने गरिन्छ । केही रैथाने जातको धान भने लोप भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्