नबिल बैंकको तस्बिर प्रदर्शनी
काठमाडौं– नबिल बैंकले ४०औं वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ ।
प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । ‘तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो’ उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’
प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतिघरमा रहेका घर भत्काउँदैका तस्बिरदेखि ५० सालतिर काठमाडौंको भरपर्दो यातायातको साधन बिक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ ।