Logo

तातोपानीको ८१ प्रतिशत बजेट खर्च

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले कूल ८१ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८०–०८१ असार मसान्तसम्म चालु र पुँजीगत गरी कूल ८१ दशमलव १७ प्रतिशत खर्च गरेको हो ।

जसमा कूल ५५ करोड ६१ लाख ७५ हजार रुपैयाँमध्ये चालु र पुँजीगत गरी ४५ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ ३७ करोड ४२ लाख रुपैयाँमध्ये ३२ करोड २९ लाख रुपैयाँ खर्च भएको तातोपानीको गाउँपालिकाको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

त्यस्तै चालुतर्फ १८ करोड १९ लाख रुपैयाँ विनियोजन गरेकोमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको तातोपानी गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर चन्दले जानकारी दिए । उनका अनुसार तातोपानीले गत आर्थिक वर्षमा ७८.१ प्रतिशत बजेट खर्च गरेको थियो । तर आर्थिक वर्ष २०८०–०८१ को अन्त्यसम्ममा विगतको भन्दा ३ प्रतिशतले बजेट खर्च बढेको छ ।

सोमबार पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६.७० प्रतिशत, सामाजिक विकासमा ६९.८१ प्रतिशत, पूर्वाधार विकास ७७.१ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६०. ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७९.४३ प्रतिशत खर्च भएको छ ।

संघ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शत प्रतिशत भएको चन्दले बताए । उनले भने,‘पालिकाका आठै वडामा सञ्चालित ६ दर्जन बढी योजना पूर्ण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको छ । त्यसैगरी ठेक्कामार्फत संघ प्रदेशको लगानीमा ७ वटा आयोजना निर्माण भएका छन् ।’

श्रमदान अभियान प्रभावकारी सञ्चालन, १२ सय बढी अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमुनाका काम गरिएको छ । प्रशासकीय भवन निर्माण एक, वडापालिका भवन निर्माण, खानेपानी योजना निर्माण तथा मर्मत, सिँचाइ कुलो निर्माण मर्मत, स्याउ बगैंचा तारबारलगायतका काम भएको जनाइएको छ ।

सार्वजानिक सुनुवाइ कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले सीमित स्रोत तथा काम नभएका योजनाको अख्तियारमा उजुरी हाल्ने आतंककाबीच पनि पालिकाका समृद्धिका लागि काम भइरहेको बताए । उनले भने,‘पालिकाको समृद्धि जनप्रतिनिधि कर्मचारीले चाहेर मात्रै सम्भव छैन । नागरिकको रचनात्मक सहयोगको आवश्यकता छ । तर रचनात्मक सुझावभन्दा गलत टिप्पणी मात्रै गर्ने प्रवृत्तिले काम गर्न गर्न असहज छ ।’

जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख कार्मा बुढाले विकास, सुशासन, सेवा प्रवाहका क्षेत्रमा तातोपानीले गरेको काम जिल्लाकै नमुना र अनुसरणयोग्य भएको बताए । तातोपानीकी उपाध्यक्ष रेवती रावलले पूर्वाधार विकाससँगै सामाजिक विकासमा पनि तातोपानीले प्राथमिकता दिएको उल्लेख गरिन् ।

नागरिकबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटिने उनको भनाइ छ । प्रमुख प्रशासकस्य अधिकृत तीर्थबहादुर कठायतले नागरिकको सेवा सन्तुष्टिलाई ध्यानमा राखेर विकास र सेवा प्रवाहलाई चूस्त बनाउन लागि पर्ने उल्लेख गरे । कार्यक्रममा पालिकावासीले विगतभन्दा विकास र सुशासनका अब्बल बन्दै गएको र सेवा सुधारमा जोड दिन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्