पर्वतको पाँच सय रोपनी खेत बाँझै
पर्वत– पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङमा पाँच सय रोपनी खेत बाँझै रहेको छ । सडक फराकिलो बनाउन भत्काइएको नहर पुनर्निर्माण नहुँदा किसानका खेत बाँझै रहेको हो ।
जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाँघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे खोला उपल्लो खनियाँघाट सिँचाइ आयोजनाको २५ मिटरभन्दा बढी लामो नहर पूर्ण रूपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत बाँझै रहने भएको छ ।
भत्काइएको नहर पुनर्निर्माण नहुँदा धुले बिउ राखेको र धान रोपाइँ पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाँघाट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष विष्णु जिसीले बताए । ‘ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन्, अहिले सडक बनाएर गए । तर नहर बनाएनन्’ उनले भने,‘यसअघिका वर्षमा पानीमा बिउ राख्ने गरेका थियौं । यसपाली राखेको धुले बिउ पनि नहर नहुँदा रोपाइँ गर्न पाएका छैनौं । बिउ छिप्पिदै जान थालेको छ । कृषकहरू निराश र चिन्तित भएका छन् ।’
३३ घरधुरी रहेका कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिँचाइ अभाव भएको छ । विगतका वर्षमा असार अन्तिम सातामा उपल्लो खनियाँघाटमा आधा रोपाइँ हुने गरेको थियो । विसं २०६१ मा मार्ग खोलिएको खनीयाँघाट–डमुवाखोला–नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि दुई करोड बजेट विनियोजन भएकोमा २०८० मंसिर महिनामा साहना–सक्षम जेभीले एक करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि ४ मिटर फराकिलो सडकलाई विस्तार गरेर ६ देखि ७ मिटर फराकिलो बनाई ६६४ मिटर ढलान, १०५ घनमिटर पर्खाल, १३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पीडित कृषकहरूले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मतको लागि अनुरोध गर्दै निवेदन दिएका थिए ।
सडकले नहरमा पुर्याएको क्षति अनुगमनका लागि गएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य र वडा अध्यक्ष हरि विकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधिले पाइपलाइन जडान गरेर सिँचाइका लागि पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि काममा ढिलाइ गरेको किसानहरूले गुनासो गरेका छन् ।