भोजपुरमा २० करोडमाथिका २ ठूला आयोजनाको काम सुरु «

भोजपुरमा २० करोडमाथिका २ ठूला आयोजनाको काम सुरु

भोजपुरमा २० करोडमाथिका दुई ठूला आयोजनाको काम सुरु भएको छ । भोजपुर सदरमुकामनजिकै अन्तर्राष्ट्रियस्तरको रंगशालाको काम सुरु भएको छ । प्रदेश नं १ सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख लागतमा भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको काम सुरु भएको हो । रंगशालाा २०८० सालमा काम सम्पन्न गर्ने गरी निर्माण निर्माणकार्य सुरु गरिएको हो ।
यस्तै भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भोजपुरको पिखुवा खोलामा ७५ मिटरको मोटरेबल पुलको कामसमेत सुरु भएको छ । उक्त मोटरेबल पुल पूर्वाधार विकास कार्यालय भोजपुरअन्र्तगत प्रदेश नं १ सरकारको ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६.३ मिटर लामो बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरका कार्यालय प्रमुख राजनराज रेडीले जानकारी दिए । उक्त पुल भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसाद राई गाउँपालिकाको मानेभञ्याङलाई जोडुने पिखुवा खोलामा पर्दछ । यी दुवै आयोजना आइतबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र संघीय संसद् सुदन किराँतीले एकैसाथ शिलन्यास गरेका थिए । यी दुई योजना भोजपुरका लागि साना सहरी खानेपानी आयोजनापछिको ठूलो आयोजनाको रूपमा मानिएको छ ।
उक्त दुई ठूला आयोजनाको शिलान्यास कार्याक्रममा बोल्दै मुख्यमन्त्री राईले भोजपुरलाई नमुना जिल्ला बनाउन आफू लागिपरेको बताएका छन् । मुख्यमन्त्री राईले भने, “विकासको पूर्वाधार मुख्य आधार सडक रहेको बताउँदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भइरहेको छ । मेरो कार्यकालमा जिल्लाका सम्पूर्ण महत्वपूर्ण पूर्वाधार निर्माण हुन्छ, भने कुनै पनि घर विद्युत्को पहुँचभन्दा बाहिर हुने छैनन् ।” विकास निर्माणका लागि बजेट अभाव नरहेको बताउँदै राईले कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए । राईले भने, “हामीसँग बजेटको अभाव छैन तर थालिएको काम प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।” पुललाई समयमै गुणस्तरीय ढंगले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेडीले बताए । निर्माण भइरहेको उक्त पुल रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने मुख्य सडक खण्ड हो । पुल निर्माण सम्झौता अनुसार २ वर्ष अर्थात् २०७८ असार सम्म सम्पन्न गरिसक्नु पर्नेछ । पुल निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्