मेरो पालिका
समृद्ध मध्यनेपालको आधारः कृषि, पर्यटन र पूर्वाधार
मध्यनेपाल नगरपालिकाभित्रको अधिकांश भाग ग्रामीण क्षेत्र छ । प्राकृतिक श्रोतलाई समुचित प्रयोग गर्दा पनि पर्याप्त राजस्व संकलन गर्न चूनौतीपूर्ण छ । भौगोलिक विकटता र बजेटको सीमितताले जनताले अपेक्षा गरेअनुसारको कामलाई गति दिन कठिन हुन्छ । यद्यपि, उपलब्ध श्रोत र साधनलाई भरपुर प्रयोग गरी प्राथमिकताको आधारमा विकास निर्माणका कामलाई गति दिएका छौं ।
नगरपालिकाअन्तर्गत बीच भाग भएर मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै छ । सो बाहेक दुईवटा ठूला सडक प्रदेश सरकारद्वारा बहुवर्षिय योजना अन्तर्गत बजेट विनियोजन भई कालोपत्रे भइरहेका छन् । नगरपालिकाले पालिका केन्द्रदेखि नगरभित्रका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने योजना स्वरुप अन्तिम चरणमा पुगेको छ । पालिका केन्द्रदेखि वडा कार्यालयसम्म सडक कालोपत्र भइसकेपछि गाउँ बस्तीसम्मका सडक स्तरोन्नतिमा बजेट विनियोजन गर्छौं ।
नगरपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा मोटरेबल पुल निर्माण गरिरहेको छ । मध्यनेपाल नगरपालिकाको आफ्नै प्रशासकीय भवन पनि अन्तिम चरणमा पुगेको छ । पालिकाभित्र सुविधा सम्पन्न अस्पताल निर्माणाधिन रहेको छ । पालिकाभित्रका सवै वडा कार्यालयहरुको भवन निर्माण कार्य पनि सम्पन्न हुन लागेको छ ।
मध्यनेपाल नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न इशानेश्वर महादेव मन्दिर, मालिका देवीको मन्दिर, राक्सेकालिका, नाग भैरव लगायतका धार्मिक स्थलहरुलाई प्रवद्र्धन गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रमा हाम्रो सेवा पछिल्ला वर्षदेखि नै निरन्तर प्रदेशकै उत्कृट हुँदै आएको छ । प्रत्येक महिना जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई घरदैलोमा निःशुल्क स्वास्थ्य शिविर हाम्रो नियमित सेवा हो । यसबाहेक पालिकाभित्रका दिर्घरोगीहरुलाई उपचार सहयोग कार्यक्रम निरन्तर चलिरहेको छ ।
शिक्षा क्षेत्रमा हाम्रो पालिकाभित्र भएका सामुदायिक विद्यालयहरु जिल्लाकै अब्बल विद्यालय हुन सफल भएका छन् । प्राविधिक शिक्षातर्फ पनि हाम्रै पालिकाभित्र भएको प्राविधिक विद्यालय लगातार प्रदेशकै उत्कृष्ट विद्यालय हुँदै आएको छ । मध्यनेपाल नगरपालिकाको भूगोललाई विशेष ध्यानमा राखी व्यावसायिक र आधुनिक कृषिलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएका छौं । ‘सुन्दर र समृद्ध मध्यनेपालको आधारः कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारासहित नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ । यसैलाई आधार मानेर बजेट विनियोजन हुँदै आएको छ ।
स्थानीयको सहभागितामा प्रत्यक्ष अनुभूत गर्ने गरी माटो सुहाउँदो योजना बनाउने योजना तथा कार्यक्रम बनाउने, विकासका गतिविधिहरु सञ्चालन गरी अल्पकालिन एवं दीर्घकालिन योजना सहित नगरको विकासलाई अगाडि बढाउँदै आएका छौं । नगरपालिकाभित्र उच्च उत्पादन, मर्यादित जीवन, समावेशी, सभ्य, न्यायपूर्ण र सुशासनयुक्त आधुनिक समाज भएको समृद्ध नगरपालिकाको लक्ष्य प्राप्तीका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुका साथै पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानव संशाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध नगरपालिकाको आधारशीला निर्माण गर्ने नीति लिएका छौं ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा पहुँच पुर्याई नगरपालिका भित्रका सबै नागरिकलाई सामाजिक सुरक्षा र सुशासनको अनुभूति गराउनुका साथै सहकार्यमूलक संस्कारको विकास गर्दै आपसी छलफल, राय सुझावका आधारमा अघि बढ्दै जनतालाई निकटताको अनुभूति गराउने प्रयासमा छौं । लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्यको स्थापना र दिगो विकासको लक्ष्यलाई समावेश गरी समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै संस्थागत गरी सुदृढीकरण गर्न प्रतिबद्ध रही मध्यनेपाल नगरपालिकाले संघीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा अगाडि बढ्ने प्रयास गरेका छौं ।
नगरपालिकाले आन्तरिक राजश्व परिचालन क्षमता अभिवृद्धि गर्दै जाने एवं स्रोत र साधनको कुशल र नतिजामूलक व्यवस्थापनद्वारा गरिवी न्यूनिकरण र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुर्याउने गरी तिव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि हासिल गर्न अधिकतम प्रयास गरेका छौं । नगरपालिकाको समग्र विकासको लागि अल्पकालीन, आवधिक, र दीर्घकालीन गुरुयोजना तयार पारी सोहीअनुसार क्रमिक रुपमा विकास निर्माण कार्यलाई अगाडि बढाउने हाम्रो प्रयास छ । नगरपालिकामा आयोजना बैंकको स्थापना गरी प्राथमिकताको आधारमा आयोजना-कार्यक्रम छनौट तथा प्राथमिकिकरण गरी कार्यान्वयन गर्दै आएका छौं ।
कृषिलाई विविधिकरण, व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रीकरण, औद्योगिकिकरणतर्फ लैजाने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । उत्कृष्ट कृषक तथा कृषक समूहलाई प्रोत्साहन गर्दै घुम्ती शिविरमार्फत माटो तथा गोवर परीक्षण कार्यक्रम सञ्चालन गर्ने र कृषि तथा पशुपंक्षी पालन क्षेत्रको उत्पादन वृद्धि गर्ने निती तथा कार्यक्रममा नै उल्लेख छ । ‘मध्यनेपाल नगरपालिकाको विशेषताः बोली र व्यवहारमा एकरुपता’ भन्ने नारालाई दृढताका साथ हृदयंगम गरी नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम ल्याएको र सोहि अनुसार अघि बढ्ने हाम्रो योजना रहेको छ ।
प्रदेशः गण्डकी
जिल्लाः लमजुङ
नगरपालिकाः मध्यनेपाल
वडा संख्याः १०
क्षेत्रफलः ११३.८६ वर्ग किमी
जनसंख्याः २१,९७१
प्रमुखः रमेशकुमार पाण्डे
उपप्रमुखः सीता गुरुङ
प्रमुख प्रशासकीय अधिकृतः चण्डिका पौडेल