Logo

पर्यटकलाई विदेशी मुद्रा सटही सुविधा बढाउन माग

काठमाडौं– होटल संघ नेपाल (हान) ले पर्यटकका लागि होटलमा विदेशी मुद्रा सटही गर्ने पाउने सीमा बढाउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर हान अन्तर्गतका पाँचतारे होटल व्यवसायीले सरकारले होटलमा बस्ने विदेशी पर्यटकले विदेशी मुद्रा सटही गर्न पाउने सीमा बढाएर दुई हजार पुर्‍याउन माग गरेका हुन् ।

पाँचतारे होटल उपसमितिका संयोजक शशीकान्त अग्रवालले विश्वमा पर्यटकले भ्रमण गर्दा मनोरञ्जन तथा समान खरिदमा पर्याप्त खर्च गर्नका लागि सेवा सुविधा र सुरक्षा दिने गरेको बताए । नेपालमा भने खर्चको सीमा राखेर कडाई गर्दा खर्चालु पर्यटक नआउने उनको भनाइ छ । उनले भने, ‘पर्यटकलाई नेपालमा आउ घुम र खर्च गरेर जाउँ भनेर सरकारले सुरक्षा तथा सहज नीतिगत व्यवस्था गर्नु पर्नेमा मुद्रा सटही र खर्च गर्नमा सीमा राखेको छ ।’

पर्यटकका लागि दैनिक ३ सय अमेरिकी डलर मात्र सटही गर्न पाउने सरकारी सीमाले खर्चालु पर्यटकका लागि पर्याप्न नहुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि मौद्रिक नीतिको पूर्वसन्ध्यामा पर्यटकले दैनिक ३ सय डलरसम्म मात्रै सटही गर्न पाउने सुविधा बढाउन व्यवसायीहरुले माग गरेका हुन् ।

हानको प्रतिनिधिमण्डले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर विदेशी पर्यटकलाई मुद्रा सटही सुविधामा सीमा बढाउन आग्रह गरेको हानका वरिष्ठ उपाध्यक्ष प्रविण पाण्डेले बताए । उनले भने, ‘होटल व्यवसायीले आगामी आवको मौद्रिक नीतिको सुझावमा पनि सहटी सुविधा वृद्धि गर्न माग गरेका छौं ।’

होटलका ग्राहकको क्रेडिट कार्ड स्वाइप गरी क्यास पेड आउट गर्दै ट्रान्जेक्सन गरिएको रकम नेपाली मुद्रामा दिने गरिएको छ । नेपालमा सञ्चालित अधिकांश होटलले अहिलेसम्म अन्तर्राष्ट्रिय बुकिङ वेबसाइटबाट आउने बुकिङको कमिसन, सदस्यता शुल्क, प्रचार खर्चवापतको रकम वाणिज्य बैंकमार्फत भुक्तानी गर्ने गरिएको छ ।

विदेशीलाई दिइने यो सटहीको सुविधाले नेपालमा खर्च बढी हुने र राज्यलाई नै लाभ हुने भएकोले पनि आगामी मौद्रिक नीतिबाटै उक्त व्यवस्था गरिदिन व्यवसायीले माग गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले पर्यटन व्यवसायलाई विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्न पनि हानले माग गरेको छ ।

होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायको अनुमति तथा सिफारिस प्राप्त गर्नुपर्ने र सो प्रक्रियामा समय लाग्ने भएको हुनाले होटललाई भुक्तानी गर्न सहज हुने गरी, होटलको स्तर अनुसार अमेरिकी डलर १० हजारसम्म टपअप गर्न मिल्ने होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउन माग गरेको छ ।

होटलहरुले यस्तो रकम पुनः टपअप गर्नुपर्ने समयमा सो कार्डबाट हुन गएको सम्पूर्ण बिल, रिजर्भ, भ्याट, टीडीएस, भुक्तानी तथा अन्य सबै आवश्यक कागजातसहितको विवरण उपलब्ध गराउन हानले आग्रह गरेको छ । यसले होटलमा आउने अन्तर्राष्ट्रिय ग्राहकसँग आर्थिक कारोबार गर्न सहज हुने र पर्यटकबाट आर्थिक लाभ हुने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्