डिभिजन वन कार्यालयको ९० प्रतिशत प्रगति

लमजुङ– डिभिजन वन कार्यालय लमजुङले आर्थिक वर्ष २०८०/०८१ का कार्यक्रमको समीक्षा तथा सार्वजनीकरण गरेको छ । सरोकारवालाको उपस्थितिमा कार्यालयले चालु आर्थिक वर्षभरिमा भएका कामको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी गराएको हो ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दिपकप्रसाद पण्डितले चालु आर्थिक वर्षका गतिविधि र उपलब्धिका बारेमा जानकारी गराएका थिए । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा संघ तथा प्रदेशअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन भएकोमा ९० दशमलव १४ प्रतिशत प्रगति हासिल गरेको छ ।
संघतर्फ ८७ दशमलव ६३ प्रतिशत र प्रदेशतर्फ ९६ दशमलव ८१ प्रतिशत प्रगति हासिल गरेको कार्यालय प्रमुख पण्डितले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले डिभिजन कार्यालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुमा सरोकारवालाको सहभागिता बढाउनुपर्नेमा जोड दिए । कार्यालयबाट सञ्चालित योजना तथा कार्यक्रमका बारेमा सरोकारवालासँग छलफल र परामर्श गरेर सञ्चालन गर्ने र भएका कार्यक्रमहरुको अनुगमन प्रभावकारी गर्नुपर्ने जिसस प्रमुख गुरुङको भनाइ थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुँयलले स्रोतसाधन तथा जनशक्ति अभावका बीच पनि कार्यालयबाट सम्पादन भएका गतिविधि सन्तोशजनक भएको दाबी गरे । आगामी दिनमा भौतिक प्रगतिलाई विशेष प्राथमिकतामा राख्दै नतिजामुखी काम गर्न सहायक प्रजिअ सुँयलको आग्रह थियो ।
सोही कार्यक्रममा कार्यालय प्रमुखले प्रस्तुतिमाथि टिप्पणी गर्दै जिल्लाका सञ्चारकर्मी नवराज पहाडी, किसान संगीत नेपाली, आश गुरुङलगायतले बोल्दै जिल्लाका कुनै पनि योजना तथा कार्यक्रम छनोट अघि सरोकारवालाको परामर्श र सम्बन्धित कार्यक्रम सम्पन्न गर्नका लागि प्राविधिक व्यवस्थापन पूर्व तयारी राम्रो गर्नसके अपेक्षित नतिजा प्राप्त गर्न सकिने सुझाव दिएका थिए ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लाको कुल भूभागमध्ये ५५ दशमलव १३ प्रतिशत क्षेत्र वनले ढाकेको छ । जसमध्ये जिल्लाको २८ प्रतिशत वन अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ भने ४१ प्रतिशत वन क्षेत्र व्यवस्थापन सामुदायिक वन उपभोक्ता समितिले गर्दै आएका छन । सोबाहेक ३० प्रतिशत वन सरकारले व्यवस्थापन गर्दै आएको छ भने एक प्रतिशत वन कबुलियती वन क्षेत्रअन्तर्गत रहेको कार्यालयले जनाएको छ ।
पाँचजना कर्मचारीलाई सम्मान
डिभिजन वन कार्यालय लमजुङले उत्कृष्ट पाँचजना कर्मचारीलाई सम्मान गरेको छ । डिभिजन वन कार्यालय र मातहतमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कार्यसम्पादन मूल्यांंकनको आधारमा सम्मान गरेको कार्यालयले जनाएको छ । कार्यालयले वन अधिकृत सन्तोष खनाल, लेखा अधिकृत विष्णुहरि न्यौपाने, फरेष्टर खुमराज थापा मगर, वन रक्षक इन्द्रबहादुर घर्ती र सवारी चालक रामजीप्रसाद बस्ताकोटीलाई सम्मान पत्रसहित सम्मान गरेको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख दिपकप्रसाद पण्डित र जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरुङले टिका र प्रशंसापत्र प्रदान गरेका थिए । डिभिजन वन कार्यालय लमजुङले प्रत्येक वर्ष कार्यालयका कर्मचारीलाई कार्यसम्पादनको आधारमा सम्मान गर्दै आएको छ । कर्मचारीहरूलाई नियमित सेवामा उत्प्रेरित गराउँदै कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालयले अघिल्ला वर्षमा जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समितिलाई पनि सम्मान गर्ने गरेको थियो ।