Logo

पूर्वाधार विकास कार्यालयको वित्तीय प्रगति ७२ प्रतिशत

लमजुङ– चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले करिब ७३ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न योजनाका लागि आएको कुल बजेटमध्ये ७२ दशमलव आठ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा विभिन्न पूर्वाधार एवं संरचना निर्माणका लागि ६७ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४९ करोड रुपैयाँ खर्च भएको कार्यालय प्रमुख विवेक सिग्देलले बताए । कार्यालय प्रमुख सिग्देलका अनुसार चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमअन्तर्गत स्थानीयस्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाअन्तर्गत ८५ लाख रुपैयाँ आएकोमा शतप्रतिशत खर्च भएको छ ।

सोबाहेक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि ६१ करोड ३० लाख रुपैयाँ विनियोजन भएकोमा ४५ करोड चार लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । त्यसैगरी संघ सशर्त अनुदानतर्फ बस्ती विकास कार्यक्रमका लागि विनियोजित दुई करोड ५० लाखमध्ये एक करोड ६६ लाख रुपैयाँमात्र खर्च भएको छ ।

त्यस्तै सम्भावित प्रादेशिक सडक योजनातर्फ एक करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा एक करोड ४४ लाख रुपैयाँ खर्च भएको छ भने संघ सशर्त अनुदानतर्फ वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि आएको ८५ लाख रुपैयाँ खर्च नभई फिर्ता भएको छ । कार्यालयले चालुतर्फ आएको दुई करोड ८६ हजार रुपैयाँमध्ये एक करोड आठ लाख ६३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालित ५० वटा साना योजनामध्ये ४९ वटा योजना निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सञ्चालित बहुवर्षीय योजनामध्ये तीनवटा योजनाको कार्य सम्पन्न भएका छन् । कार्यालयका अनुसार बहुवर्षीय योजनाअन्तर्गत अझै पाँचवटा योजना रहेका छन् । चालु आर्थिक वर्षमै काम सम्पन्न हुनुपर्ने उक्त योजनामा निर्माण पक्षको लापरबाहीका कारण कार्य प्रगति हुन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लामा चालु आर्थिक वर्षमा पनि पाँचवटा बहुवर्षीया सडक योजना सुरु भएका छन् । चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत जिल्लामा चारवटा मोटरेबल पुल निर्माण पनि सुरु भएका छन् । चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु हुने मोटरेबल पुल योजनामा भौतिक प्रगति नभएको तर केही समय अघिमात्रै सम्झौता कार्य सकिएको कार्यालय प्रमुख सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस्