मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपालको पिस्ती खोलामा यातायात अवरुद्ध भएको छ । पिस्ती खोलामा आएको बाढीले सडक भत्किएपछि सवारी आवागमनमा समस्या भएको हो ।
अविरल वर्षासँगै मध्यनेपाल नगरपालिका–६ स्थित पिस्ती खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको सडक अवरुद्द भएको र वर्षा भइरहेका कारण तत्कालै यातायात सञ्चालन गर्ने अवस्था नभएको इलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ । सडक अवरुद्ध भएसँगै सुन्दरबजारदेखि विमिरे भन्ज्याङ हुँदै भोर्लेटार आवतजावत गर्ने सवारीसाधन वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
वैकल्पिक सडकको रूपमा भोर्लेटार रानीपानीदेखि गाउँबाग्रे–थानसिङ हुँदै बिमिरे भञ्ज्याङ जाने सडक प्रयोग गरी सवारी आवतजावत गर्न प्रहरीले अनुरोध गरेको छ । सोबाहेक भोर्लेटारदेखि दुईपिप्ले सोतीपसल कुन्छातर्फको सडकबाट पनि आवतजावत गर्न सकिने प्रहरीले जनाएको छ ।
पिस्ती खोलामा पुल निर्माण हुन नसक्दा वर्षेनी वर्षात्को समयमा सवारीसाधन आवागमन अवरुद्ध हुँदै आएको छ । खोलामा आउने बाढीका कारण विगतका वर्षमा साना सवारीसाधन एवं यात्रुहरू बगाएर दुर्घटनासमेत हुने थियो । वर्षाको समयमा पनि सो सडक नियमित रूपमा सुचारु गर्न सो खोलामा बेलीब्रिज राख्ने तयारी पनि भएको थियो । केही महिनाअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाटै निर्णय गरी पिस्ती खोलामा बेलीब्रिज निर्माणका लागि पहल भए पनि हालसम्म कुनै उपलब्धि भएको छैन ।
बहुचर्चित मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गत जिल्लामा अधिकांंश भाग सहज भए पनि पिस्ती खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये राइनास खण्ड, सुन्दरबजारको सत्रसयदेखि नेटासम्म सम्पन्न भइसकेको छ । सुन्दरबजारको पाउदीदेखि क्याम्पस गेटसम्म, खत्रेठाँटीदेखि सत्रसयसम्म सडक निर्माणाधीन छ ।
सोबाहेक स्थानीयको अवरोधका कारण सुन्दरबजारमा दुई किलोमिटर र भोर्लेटारमा १ शमलव ७५ किलोमिटर सडक निर्माणकार्य पनि प्रभावित भएको छ । सुन्दरबजारको क्याम्पस गेटदेखि मुख्य बजार हुँदै खत्रेठाँटीसम्म सडक निर्माण कार्य हुन सकेको छैन भने मध्यनेपालको रानीपानी चोकदेखि भोर्लेटार बजार हुँदै मिदिम खोला पुलसम्म निर्माणकार्य अवरोध हुँदै आएको छ ।