Logo

मोबाइल बैंकिङ प्रयोगकर्ता २०.७३ प्रतिशतले बढे

धनगढी– सुदूरपश्चिम प्रदेशमा ब्रोडब्याड इन्टरनेट र फोरजी मोबाइल इन्टरनेट सेवा विस्तार भएसँगै विद्युतीय भुक्तानी सेवामा वृद्धि भएको छ । आर्थिक सर्वेक्षण २०८०–०८१ का अनुसार सुदूरपश्चिममा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या २०.७३ प्रतिशतले वृद्धि भएको हो । मोबाइल बैंकिङ सेवाको सक्रिय प्रयोगकर्ता ८.३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

२०८० फागुन मसान्तसम्म प्रदेशमा कुल दर्ता भएका मोबाइल बैंकिङ संख्या १५ लाख ३० हजार रहेकोमा सक्रिय मोबाइल बैंकिङ संख्या १० लाख ३४ हजार छ । गत आर्थिक वर्ष २०७९–०८० मा यो संख्या क्रमशः १२ लाख ६७ हजार र ९ लाख ५४ हजार रहेको थियो । यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिन संख्या २०.५ प्रतिशतले वृद्धि भई २४० पुगेको छ । सक्रिय क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्डहरु क्रमशः २६.७३, ५.३५ र १३४.१४ प्रतिशतले बढेका छन् ।

यस अवधिमा दर्ता भएको आठ हजार २५१ क्रेडिट कार्डमध्ये ६ हजार, ६ लाख ७४ हजार डेविट कार्डमध्ये चार लाख ५० हजार, एक हजार ४३३ प्रिपेड कार्डमध्ये एक हजार र ५४ हजार इन्टरनेट बैंकिङमध्ये ३५ हजार सक्रिय रहेको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा निक्षेप उल्लेखनीय रूपमा वृद्धि हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा गतवर्षको तुलनामा चालु वर्षमा २.२३ प्रतिशत निक्षेप वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।

गतवर्ष एक खर्ब ३४ अर्ब ४३ करोड निक्षेप संकलन भएकोमा यो वर्ष १ अर्ब ३७ अर्ब २० करोड निक्षेप संकलन भएको छ । निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह भने सुदूरपश्चिममा घटेको छ । २०७९ पुससम्म १५ अर्ब ८८ करोड कर्जा प्रवाह भएकोमा ११.४४ प्रतिशतले घट्न गई १४ अर्ब ६ करोड कर्जा कायम भएको छ । कुल प्रवाह भएको कर्जामध्ये सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा ३०.९५ प्रतिशत र सबै भन्दा कम खानी उत्खनन् क्षेत्रमा ०.१६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

– सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ता १० लाख ३४ हजार
– निक्षेप २.२३ प्रतिशत वृद्धि, कर्जा प्रवाह ११.४४ प्रतिशतले घट्यो
– ३ लाख ४१ हजार डिम्याट खाता
– बीमा लेख संख्या ६.९१ प्रतिशतले वृद्धि भई ६ लाख ८० हजार पुग्यो

कृषि र उपभोगतर्फको ऋण परिचालन क्रमशः १०.३९ प्रतिशत र १९.९२ प्रतिशत छ । कृषि तथा वन क्षेत्रमा एक अर्ब ४६ करोड १९ लाख, मत्स्यपालन क्षेत्रमा ७ करोड ८३ लाख, खानी तथा उत्खनन्मा दुई करोड २३ लाख, कृषि, वन र पेय पदार्थ उत्पादन सम्बन्धित क्षेत्रमा एक अर्ब एक करोड ४७ लाख, गैर खाद्य उत्पादन क्षेत्रमा ७१ करोड ९९ लाख, निर्माण क्षेत्रमा ५५ करोड ८७ लाख, विद्यतु, ग्यास र पानीमा ३ करोड ११ लाख, धातुजन्य वस्तु, मेसिन र विद्युतीय उपकरणमा १७ करोड ६३ लाख कर्जा लगानी गरिएको छ ।

सबैभन्दा बढी कर्जा लगानी रहेको थोक तथा खुद्रा व्यापारमा चार अर्ब ३५ करोड ३९ लाख, उपभोगका लागि दुई अर्ब ८० करोड २२ लाख कर्जा लगानी गरिएको छ । सूचना प्रविधिको पहुँच वृद्धि भएसँगै सुदूरपश्चिममा सेयरको सक्रिय कारोबार गर्नेको संख्या समेत बढेको छ । आर्थिक सर्वेक्षणले प्रदेशमा डिम्याट खाता खोल्नेको संख्या बढ्दो क्रममा रहेको उल्लेख गरेको छ ।

‘सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार प्रदेशमा २०८० फागुनसम्म ३८ हजार ९ सय नयाँ डिम्याट खाता खोलिएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘प्रदेशमा खोलिएका नयाँ डिम्याट खाताको संख्या ३ लाख ४१ हजार ८ सय पुगेको छ । प्रदेशमा खोलिएका डिम्याट खातामध्ये पुरुषको नाममा ६१.२१ प्रतिशत, महिलाको नाममा ३८.७८ प्रतिशत र संस्थागत ०.०२ प्रतिशत छ ।’ यसैगरी, २०७९–०८० सम्म बीमा सेवा पुगेको जनसंख्याको अनुपात १६.८० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म वृद्धि भई १७.५६ प्रतिशत पुगेको छ ।

२०८० फागुनसम्म बीमा लेख संख्या ६.९१ प्रतिशतले वृद्धि भई कुल ६ लाख ८० हजार पुगेको छ । नेपालको कुल जीवन तथा निर्जीवन बीमा शुल्क आर्जनमा सुदूरपश्चिम प्रदेशको हिस्सा क्रमशः ५.३० र ६.०१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । जीवन बीमा शुल्क आर्जन पाँच अर्ब ९२ करोड ८२ लाख र निर्जीवन बीमा शुल्क आर्जन ६९ करोड २२ लाख गरी कुल ६ अर्ब ६२ करोड चार लाख बीमा शुल्क आर्जन भएको छ ।

प्रतिक्रिया दिनुहोस्