Logo

रिलायन्सको आईपीओ रोकियो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) को प्रक्रिया तत्कालका लागि रोकिएको छ । वित्तीय विवरणमा अस्वाभाविक विवरण समेटेर महँगो मूल्यमा सेयर बेच्न खोजेको आरोप लागेसँगै संसद्को सार्वजनिक लेखा समितिले प्रश्न सोधेपछि धितोपत्र बोर्डले बुधबार आईपीओ निष्काशन प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

मंगलबार समितिले रिलायन्सको आईपीओ प्रक्रियाबारे धितोपत्र बोर्डलाई पत्र काट्दै विभिन्न पाँच प्रश्नको जवाफ माग गरेको थियो । त्यसपछि बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले आईपीओको प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । रिलायन्सले असार २७ मा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि एक लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । धितोपत्र बोर्डले गत असार १२ गते रिलायन्सलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थियो । बुक बिल्डिङ विधिमार्फत अघि बढाइएको आईपीओका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो ।

रिलायन्सले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न अनुमति माग्ने क्रममा बोर्डमा पेश गरेको वित्तीय विवरणमा यो वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा हुने आकलन गरेको थियो । तर, चैत मसान्तसम्म यसको प्रतिसेयर आम्दानी दुई रुपैयाँ आठ पैसामा खुम्चिएको छ । यसअघि यसको नेटवर्थ २५९ रुपैयाँ २३ पैसा रहेको देखाइए पनि यथार्थमा १७९ रुपैयाँ ४५ पैसामा ओर्लिएको छ ।

अनुमतिका लागि आवेदन दिने बेलाको भन्दा वित्तीय विवरण निकै खस्किएको देखिएपछि लेखा समितिले कम्पनीको सेयर मूल्य निर्धारणको आधार के हो भनेर सोधेको थियो । यसको जवाफका लागि समितिले बोर्डलाई एक साताको समय दिएको छ । यसअघि लगानीकर्ताहरूको संगठनले समेत रिलायन्सको वित्तीय विवरणमाथि प्रश्न उठाउँदै प्रक्रिया रोक्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्