Logo

भाडा नतिर्ने टहरामा गुठीले लगायो ताला

जुम्ला– चन्दननाथ भैरवनाथ गुठीको जग्गामा सञ्चालनमा रहेको भाडा नतिर्ने टहरामा ताला लगाइएको छ । ६ महिनादेखि १८ महिनासम्मको भाडा नतिर्ने टहरामा गुठी व्यवस्थापन समितिले ताला लगाएको हो । चन्दननाथ गुठी व्यवस्थापन समितिसँग भएको सम्झौता अवज्ञा गरी विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेर लामो समयसम्म भाडा नतिर्ने व्यापारीको टहरामा ताला लगाइएको हो ।

गुठीको जग्गा सयाैं जनालाई व्यावसायिक प्रयोजनका लागि भाडामा दिइएको छ । तर अधिकांश व्यापारीले भाडाको जग्गामा पक्की संरचना बनाएर बसेका छन् । सम्झौताअनुसार लामो समयसम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागितामा तालाबन्दी गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर थापाले बताए ।

उनका अनुसार गुठीको जग्गामा बनेका चन्दननाथ नगरपालिका–५ स्थित कालेखोली लाइनमा रहेका ६ वटा टहरामा ताला लगाइएको हो । यद्यपि कालेखोली क्षेत्रमा गुठीको जग्गमा ३६ वटा टहरा सञ्चालन छन् । ३६ वटामध्ये १० वटा टहराले निकै लामो समयदेखि भाडा तिरेका छैन । उनीहरूलाई पनि अल्टिमेटम दिइएको छ । चाँडै भाडा नबुझाए त्यहाँ पनि ताला लगाइने भएको छ । नाम हटएर भए पनि संचरना निकै ठूला र पक्की भवन बनेका छन् । गुठीको जग्गाभन्दा निजी जग्गा जस्तो देखिन्छ ।

अध्यक्ष थापा भन्छन्,‘खाली जग्गा राख्नुभन्दा आवास र स्थानीयको जीविकोपार्जन होस भनेर जग्गा भाडामा दिएका हौं । एउटै टहराबाट लाखौं रकम उठाउनु छ । ३–३ महिनामा भाडा बुझाउने सम्झौता भए पनि अटेरी गरेका छन् । न्यूनतम सात महिनादेखि अधिकतम १८ महिनासम्मका भाडा तिर्न बाँकी छन् । टहराहरुले १२ देखि २० लाखसम्म तिर्न बाँकी रहेको छ । भाडा तिर्न पटकपटक ताकेता गर्दासम्म नटेरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको हो ।’

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरको संरक्षण तथा प्रवर्द्धनका लागि बजेट अभाव छ । यद्यपि गुठीले आम्दानीको रकम कहाँ खर्च गर्छ ? कहाँ लगानी गर्छ भन्ने बारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । गुठीको आम्दानी र खर्च पारदर्शीता नागरिकको शंका यथावत रहेको छ । तर गुठीचौरको जग्गामा व्यापार गरिसकेपछि भाडा तिर्न नमान्नु राम्रो पक्ष नभएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ । उनले चन्दननाथ मन्दिरको प्रवर्द्धनका लागि सबै सरोकारवाला एकजुट हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्