Logo

उज्यालो बन्दै तुल्सीपुर

दाङ– तुलसीपुरको ‘क’ लाइन अहिले रातको समयमा झिलिमिली हुन्छ । यसले तुलसीपुर सुरक्षित छ भन्ने सन्देश दिनुका साथै शौन्दर्य पनि थपेको छ । अहिले तुलसीपुरलाई शृङ्गारिएको छ । तुलसीपुरको वीरेन्द्र चोकमा ठूलो हाइमास्टर लाइट जडानसमेत भएको छ । यसले तुलसीपुरलाई थप उज्यालो प्रदान गरेको छ । त्यस्तै अन्य स्थानका सडक पोलमा बत्ती पनि जडान गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले पछिल्लो समय तुलसीपुर उज्यालोमा परिणत भएको बताए । तुलसीपुर उपनगरपालिकाको करिब ६ लाख ५० हजार लागतमा तुलसीपुरको ‘क’ लाइनमा सडक बत्ती र झिलीमिली बत्ती जडानको काम भएको बताए । न्यौपानेले तुलसीपुरको ‘क’ लाइनको ३० वटा पोलमा सडक बत्ती जडान गरिएको बताए । त्यस्तै एक सय आठवटा झिलीमिली बत्ती जडान भएका छन् ।

ती बत्ती रातमा बल्न थालेपछि अहिले तुलसीपुरको रौनक फरक भएको छ । प्रदेश सरकारको सहयोग र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा तुलसीपुरका पाँच स्थानमा हाइमास्टर लाइट जडान हुने सूचना अधिकारी न्यौपानेले बताए । उनका अनुसार वीरेन्द्र चोकमा हाइमास्टर लाइट जडान भएको छ भने अब गुम्राह चोक, बसपार्क, हात्तीखौवामा पनि बत्ती जडान गर्ने तयारी गरिएको छ । हाइमास्टर लाइट जडान भएपछि तुलसीपुर बजारमा उज्यालो थपिने छ ।

तुलसीपुर बजारका सबै स्थानमा सडक बत्ती नहुँदा समसाँझै बजार सुनसान हुन्थ्यो तर पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिका रातमा पनि उज्यालो तुलसीपुर बनाउने अभियानमा लागेको छ । तुलसीपुर उपमहानगरले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सहर र आवासीय क्षेत्रमा सडक बत्ती र सिसी–क्यामरा जडान गरी उज्यालो र सुरक्षित तुलसीपुर बनाइने नीतिसमेत अगाडि सारेको छ ।

‘तुलसीपुर बजारका मुख्य ‘क’ लाइनदेखि अन्य क्षेत्रमा रहेका सडकबत्ती मर्मत तथा जडान गरी तुलसीपुरलाई उज्यालो तुलसीपुर बनाउने हाम्रो योजनाअनुसार काम भइरहेको छ भने सहकार्य पनि गर्नु भएको छ,’ सूचना अधिकारी न्यौपानेले भने । सडक बत्ती नहुँदा व्यावसायिक असुरक्षा खेपिरहेका तुलसीपुरका व्यवसायी रातमा पनि तुलसीपुर झकिझकाउ भएपछि खुसी व्यक्त गरेका छन् । ‘तुलसीपुर बजारका मुख्य ‘क’ लाइन अहिले झिलिमिली भएको छ, रातमा पनि तुलसीपुर उज्यालो भएपछि विशेष गरेर व्यवसायी खुसी भएका छौँ,’ व्यवसायी माधव केसीले भने ।

त्यस्तै यसअघि तुलसीपुर अन्धकार देखेकी छिमेकी जिल्ला रुकुम पश्चिमबाट आएकी कल्पना वलीले तुलसीपुरको मुख्य सडक झिलिमिली देख्दा रोमाञ्चित र खुसी भएको बताइन् । ‘एक महिनाअघि म नेपालगञ्जबाट आउँदै गर्दा वीपी चोक अन्धकार थियो तर हिजो त कहाँ आएँछु भन्ने लाग्यो, उज्यालो तुलसीपुर देखेर खुसी र सुरक्षित महसुस भयो,’ उनले भनिन् ।

यता तुलसीपुर उद्योग वाणिज्य संघले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर अभियान’ थालेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले सुरक्षित तुलसीपुरको सन्देश आवश्यक रहेको भन्दै कार्य योजना बनाएर तुलसीपुरमा लगानीको वातावरण र आम उपभोक्ताको उत्साहजनक सहभागिताका लागि यो अभियान थालिएको बताए ।

हरेक क्षेत्रबाट सुरक्षित तथा सुन्दर तुलसीपुर प्रति नकारात्मक सन्देश प्रवाह गरिएकाले त्यसविरुद्ध आमनागरिक, अधिकारकर्मी, सञ्चारकर्मी र निजी क्षेत्र लाग्नुपर्ने भन्दै उनले त्यसका लागि छलफल अगाडि बढेको बताए । त्यससँगै अब निजी क्षेत्र तथा सरकारी कार्यालय स्थानीय सरकारसँगको समन्वय गरी बजारमा सुरक्षाका लागि सिसीक्यामरासमेत जडान गर्ने योजना रहेको उनले बताए ।

‘अहिले उज्यालोका लागि लाइट जडानसँगै धेरै काम सुरु भएका छन् । पुराना सिसीक्यामेरा मर्मत र नभएका स्थानमा नयाँ सिसी क्यामेरा जडान गर्ने विषयमा छलफल भइरहेको छ,’ केसीले भने । त्यस्तै रोटरी क्लबसँगको सहकार्यमा अहिले घोराही रोडमा ग्रीन–बेल्टमा हरियाली बनाउन लागेको भन्दै अब सरसफाइ अभियानलाई निरन्तरता दिने उनले बताए । अभियानअन्तर्गत थालिएका यी सबै प्रयास सफल भए तुलसीपुुर बजार सुन्दरसँगै सुरक्षित बन्ने विश्वास तुलसीपुरबासीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्