विकट गाउँमा जलविद्युत «

विकट गाउँमा जलविद्युत

हेटौंडा-मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–६ बाङराङमा हाइड्रोमार्फत् बिजुली उत्पादन गरी स्थानीयलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । नौ किलोवाट क्षमताको पिको हाइड्रो पावरबाट गाउँमा बिजुली पुगेपछि बाङराङका करिब सय घर परिवारमा खुसीयाली छाएको छ ।
स्थानीय क्षेत्रमा रहेको डिङना खोलाबाट निकालिएको विद्युत परियोजनाको राक्सिराङ गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष सिंगलाल प्रजाले उद्घाटन गरेका हुन् । सिमान्तकृत चेपाङ तथा तामाङ समुदायको बाहुल्य रहेको र बाङराङमा ग्रामिण प्रविधि सेवा केन्द्र ललितपुरको प्राविधिक सहयोग तथा साइमनपु फाउण्डेशन फिनल्याण्ड र इको इनर्जीको आर्थिक सहयोगमा हाइडो निर्माण गरिएको हो ।
परियोजना सम्पन्न गर्नका लागि ३० लाख रुपैयाँ खर्च भएको आयोजनाका अध्यक्ष सूर्यबहादुर थिङले जानकारी दिए । सो आयोजनामा राक्सिराङ गाउँपालिकाले ३ लाख ५० हजार र अन्य बाह्य दाताबाट १० लाख रुपैयाँ प्राप्त भएको थियो । बाँकी रकम फाउन्डेशन र इको इनर्जीले सहयोग गरेको थियो । हेटौंडामा रहेको महालक्ष्मी ईन्जिनियरिङ वर्कसप प्रालिले उक्त आयोजना निर्माणको जिम्मा लिएको थियो । तोकिएकै समयमा काम सम्पन्न गरी गाउँमा बिजुली बाल्न सफल भएको आयोजनाका अध्यक्ष थिङले बताए ।
सो क्षेत्रमा थप सम्भाव्यता अध्ययन गरेर हाइड्रोका क्षमता विस्तार गरी नजिकका गाउँमा पनि बिजुली पु¥याउने लक्ष्य लिइएको आयोजना प्रमुख थिङको भनाइ छ । ग्रामीण प्रविधि केन्द्रले लामो समयदेखि सिमान्तकृत एवम् जनजातिको आर्थिक विकास तथा स्वरोजगार बनाउने काममा सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने केन्द्रका कार्यक्रम अधिकृत सानुबाबु पण्डितले बताए । केन्द्रले पिको हाइड्रोसँगै कुखुरापालन, मौरीपालन एवम् सुधारिएको पानीघट्ट निर्माणमा तालिम एवम् आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्